फिल्म र म्युजिक भिडियोमा सुर्तीजन्य पदार्थको सेवनका दृष्यको विकल्प खोज्नुपर्नेमा सरोकारवालाको जोड

फिल्मी फण्डा। फिल्म र म्युजिक भिडियोका दृष्यमा सुर्तीजन्य पदार्थ सेवनका दृष्यको विकल्प खोज्नुपर्नेमा सरोकारवाला एकमत भएका छन्। सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा 'अनिवार्य' बाहेक त्यस्ता दृष्य नराख्ने कुरामा जोड दिइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर कोषको कार्यालय र चलचित्र विकास बोर्डको सहयोगमा स्वास्थ्यखबर फाउन्डसेनले आयोजना गरेको 'दृष्यमा सुर्तीजन्य पदार्थको प्रयोग: कथाले माग्छ?' कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली,  कलाकार शंकर बिसीलगायतले यस्तो धारणा राखेका हुन्।

डा देवकोटाले कला क्षेत्रको प्रत्यक्ष प्रभाव पर्ने बताउँदै सुर्तीजन्य पदार्थ सेवनका दृष्यको विकल्प खोज्न आग्रह गरे। उनले भने,  'हामी अहिले पनि टोपी मिलाउँदा राजेश हमाल (हिरोजस्तो) देखिएँ कि देखिइनँ भनेर सोच्ने गर्छौं । महिलाले कसैलाई सोच्नुहुन्छ होला। त्यो सिनेमाको प्रत्यक्ष प्रभाव हो। त्यहाँका गतिविधिले आम मान्छेको जीवनमा प्रभाव छाड्छन्।'

सर्जकलाई सृजनाका विषयमा सुझाव दिन भन्दा पनि आफैंले त्यस्ता दृष्यका विकल्पमा संसारमै मानक बनाउने दृष्य सृजना गर्नतर्फ लाग्नुपर्नेमा उनले जोड दिए। कलाकारिता सबै क्षेत्र, वर्ग र उमेर समूहसँग जोडिने बताउँदै उनले थपे,  'तपाईंहरु चुरोट,सुर्तीको सहारा बिना नै अब्बल चरित्र निर्माण गर्न सक्नुहुन्छ।'

विकास बोर्डका अध्यक्ष डिसीले सुर्तीजन्य पदार्थको प्रयोगलाई सृजनशीलताका उच्चतम प्रयोगबाट न्यूनिकरण गर्न सकिने बताए। फिल्ममा देखाइएको दृष्यबाट बालबालिकामा प्रभाव पर्ने कुरामा आफू केही हदसम्म सहमत रहेको बताए। उनले थपे,  'बालबालिकाले सुर्तीजन्य पदार्थको प्रयोग चलचित्रबाट सिक्ने गरेका छन् भन्ने तर्कलाई केही हदसम्म मान्न सकिन्छ। यसै तर्कसँग जोडेर म मेरो विगतलाई स्मरण गर्न चाहन्छु।  जतिबेला म विद्यालय तहको अध्ययन गरिरहेको थिएँ। त्यतिबेला भारतीय अभिनेता रजनीकान्तले हातले फ्याट्ट फ्याट्ट पारेको देख्दा मलाई पनि चुरोट घुमाउने रहर जागेको थियो।'

चलचित्रका विषयवस्तुले धुम्रपान तथा लागू औषधको प्रयोगलाई बढावा मात्रै दिने नभई त्यस्ता पदार्थको प्रयोग गर्ने तरिका समेत सिकाइरहेका हुन सक्ने भन्दै सचेत रहन कला क्षेत्रलाई आग्रह गरे।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech