धनगढी सिनेमा संवादमा स्थानीय कला संस्कृति र पर्यटन प्रवद्र्धनमा जोड

फिल्मी फण्डा। सुदूरपश्चिम प्रदेशमा पहिलोपटक ‘सिनेमा संवाद’ कार्यक्रम आयोजना गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल कैलाली र जेडी एसोसिएट को संयुक्त आयोजनामा धनगढीमा सम्पन्न कार्यक्रममा चलचित्रमार्फत स्थानीय कला संस्कृतिको उजागर र पर्यटन प्रबर्द्धनमा जोड दिइएको छ ।

विभिन्न शीर्षक केन्द्रित रहेर गरिएको विषयगत संवाद कार्यक्रममा सुदुरपश्चिम प्रदेश चलचित्रले उठाउनसक्ने कथावस्तु र छायांकनका लागि भर्जिन क्षेत्र भएकोले अब यहाँका कला संस्कृतिहरुलाई समेटेर सिनेमा निर्माण हुनुपर्ने, पर्यटकीय स्थलहरुलाई सिनेमामार्फत प्रसार प्रसार गर्नुपर्नेलगायतका कुराहरूमा जोड दिइयो।

कार्यक्रममा चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकारबीच चलचित्र निर्माण, सन्देश, सामाजिक प्रभाव, स्थानीय पर्यटन, बजारका चुनौती र सिनेमा–समाजको सम्बन्धबारे गहिरो छलफल गरिएको छ । 

संवाद कार्यक्रम गाउँ केन्द्रित बनाउनुपर्छ

सिनेमा संवाद कार्यक्रमको जोरायल गाउँपालिका डोटीका अध्यक्ष दुर्गादत्त ओझाले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले काठमाडौंले दूर देख्ने सुदूरपश्चिम प्रदेशमा थालनी गरिएको यो प्रकारको कार्यक्रमलाई शहर केन्द्रित नबनाएर यहाँका धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूमा पुर्याउन आग्रह गर्दै त्यसले सुदूरपश्चिमको परिचय बोकेका विभिन्न परम्परा र पर्यटकीय स्थलहरूलाई राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सघाउ पुग्ने बताए । उनले आगामी दिनहरुमा सिनेमा संवाद कार्यक्रम गर्नका लागि जोरायल गाउँपालिकामा कलाकार सहित आएर कार्यक्रम गर्नका लागि निम्तो समेत दिए ।

विभिन्न विषय केन्द्रित छलफल र संवाद
सिनेमा संवाद कार्यक्रममा विभिन्न बिषयमा बहस र संवाद गरिएको छ । पहिलो सत्रमामा नेपाली सिनेमामा नवीन पुस्ता नवीन दृष्टिकोण बिषयमा  छलफल गरिएको छ । उद्घोषिका निलम चन्दले सहजीकरण गरेको कार्यक्रममा नायिका उपासना सिंह ठकुरी, अभिनेता दिव्यदेव पन्त र चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी वक्ताको रुपमा रहेका थिए । यो सत्रमा पछिल्लो समय नेपाली चलचित्रमा आईरहेका नयाँ पुस्ताको अवसर चुनौतीका साथै बदलिदो प्रविधिले पारिरहेको प्रभावको बारेमा संवाद गरिएको थियो ।

दोस्रो सत्रमा सिनेमामा सुदुरपश्चिम इतिहास र संस्कृति बिषयमा छलफल गरिएको थियो । पत्रकार सीताराम ओझाले सहजीकरण गरेको संवाद कार्यक्रममा वक्ताको रुपमा सुदुरपश्चिम क्षेत्रको कला संस्कृतिका जानकार साहित्यकार हेमन्त विवश, चलचित्र निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्का रहेका थिए ।
संवादमा चलचित्रमा उठान गर्न सकिने सुदुरपश्चिमका बिषयवस्तु र कथाहरुको बारेमा छलफल गरिएको थियो । यो सत्रमा चलचित्र निर्देशक नेपालले सुदुरपश्चिमको मौलिक बिषयमा सोहि ठाउँका रमणीय स्थलहरूमा छायांकन गर्नेगरि नयाँ चलचित्र निर्माणको घोषणा गरे ।

कार्यक्रमको तेस्रो सत्रमा डोटेली भाषा सिनेमा र संगीतको बिषयमा छलफल गरिएको थियो । पत्रकार सीताराम ओझाले सहजीकरण गरेको संवादमा गीतकार हर्क साउँद, वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मी र वरिष्ठ पत्रकार तथा सुदूरपश्चिममा पहिलो चलचित्र निर्माण गरेका उमिद वागचन वक्ताको रुपमा रहेका थिए । सो बहसमा चलचित्रमा प्रयोग भईरहेका देउडा गीत संगीत र त्यसको मौलिकताको बिषयमा छलफल गरिएको थियो ।

सिनेमा संवादको चौथो सेसनका रुपमा सुदुरपश्चिमको पर्यटन प्रबर्द्धनमा सिनेमाको भुमिका विषयमा छलफल गरिएको थियो । पत्रकार टेकेन्द्र देउवाले सहजीकरण गरेको कार्यक्रममा कलाकार सरस्वती खड्का, पहिलो डोटेली चलचित्र गौरीका निर्माता खड्गबहादुर मल्ल र थारु चलचित्रका अभिनेता प्रेम चौधरी वक्ताको रुपमा रहेका थिए । यो विषयमा सिनेमाले सुदुरपश्चिमको पर्यटन  प्रबंन्धनमा  पुर्याउन सक्ने योगदान र नेपाली सिनेमामा समेट्न सकिने पर्यटकीय स्थलहरूको विषयमा बहस गरिएको थियो ।

सुदूरपश्चिमको परिचय बोकेका दोधारा चांदनी, अपि हिमाल, सैपाल हिमाल,खप्तड लगायतलाई सिनेमामा समेट्दा त्यसले स्थानीय पर्यटन प्रबर्द्धनमा पार्न सक्ने प्रभावको बारेमा छलफल भयो । संवाद आयोजक संस्थाहरू चलचित्र पत्रकार संघ नेपाल कैलाली अध्यक्ष पुष्पराज जोशी र जेडी एसोसिएट्सका प्रमुख दिनेश भण्डारीले सुदूरपश्चिम प्रदेश मै पहिलोपटक आयोजित कार्यक्रम फलदायी भएको विश्वाससहित यो प्रकारको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउँदै सिनेमा संवादले स्थानीय कला संस्कृतिको पहिचान वृद्धि र पर्यटन प्रबर्द्धनमा सघाउ पुर्याउने अपेक्षा राखे ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech