फिल्मी फण्डा। आदिवासी जनजातिको मौलिक भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘आदिवासी जनजाति चलचित्र महोत्सव २०८२’ काठमाडौंमा आयोजना हुने भएको छ। महोत्सव आगामी असार ६ देखि ८ गतेसम्म चल्नेछ।
महोत्सवका कार्यवाहक अध्यक्ष भुइसल लामाका अनुसार कार्यक्रममा चलचित्र, निर्देशक, पटकथा, छायांकन, लघु चलचित्र, वृत्तचित्र, पब्लिक चोइस अवार्ड र जुरी प्रोत्साहनजस्ता विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ। विजेतालाई पुरस्कारद्वारा सम्मान गरिने बताइएको छ।
महोत्सव निर्देशक प्रतिमाया पुनका अनुसार आदिवासी जनजातिले उत्पादन गरेका चलचित्रहरूले नेपालको विविध सांस्कृतिक पहिचान बोकेको कथा बोलेका छन्। उनले भनिन्, “चलचित्र हाम्रो कला र संस्कृति मात्रै होइन, पर्यटन र अर्थतन्त्रको पनि माध्यम हो।”
पुनका अनुसार महोत्सवमार्फत आदिवासी जनजातिका भाषा, धर्म, परम्परा र सामाजिक जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिइएको छ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्र भएकाले यस्ता महोत्सवले विविधता झल्काउने माध्यमको रूपमा भूमिका खेल्ने आयोजकको विश्वास रहेको छ ।