फिल्मी फण्डा। चलचित्र छायांकनलाई सहज बनाउने लक्ष्यसहित सरकारले इन्डोर र आउटडोर स्टुडियो निर्माणमा निजी क्षेत्रलाई आकर्षित गर्ने नीति लिएको छ।
बिहीबार संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले फिल्म क्षेत्रको पूर्वाधार विकासमा निजी क्षेत्रलाई सहभागी गराउने बताए।
‘नेपाली मौलिक कला र संस्कृतिको प्रवर्द्धन तथा स्वदेशी–विदेशी चलचित्रको छायांकनलाई सहज बनाउन स्टुडियो निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ,’ बजेट भाषणमा अर्थमन्त्री पौडेलको भनाइ थियो।
देशमा स्तरीय छायांकन स्टुडियोको अभावमा धेरै फिल्म युनिट विदेशी गन्तव्य रोज्न बाध्य छन्। सरकारले आगामी वर्षदेखि सो अभाव हटाउँदै निजी लगानीमार्फत स्टुडियो निर्माण अघि बढाउने योजना सार्वजनिक गरेको हो।
नीति कार्यान्वयनमा आएमा छायांकन सहज हुने मात्रै होइन, फिल्म निर्माण लागतमा कटौती, रोजगारी वृद्धि र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।