‘नरसिंहाः अवतार’ प्रदर्शनमा, राजेश हमालको कमब्याकले दर्शक उत्साहित

फिल्मी फण्डा। आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘नरसिंहाः अवतार’ ले सुखद दर्शक साथ पाएको छ। काठमाडौंसहितका विभिन्न स्थानका हलहरूमा बिहानैदेखि दर्शकको अकुपेन्सी उत्साहजनक देखिएको छ।

फिल्मका वितरक करण श्रेष्ठ ‘क्रेजी’ले दिउँसो र बेलुकाका शोहरूमा दर्शक उपस्थिति अझै बढ्ने प्रक्षेपण गरेका छन्। फिल्मको प्रचारका लागि बिहानैदेखि मुख्य कलाकारहरू विभिन्न हलहरूमा पुगेका छन्। काठमाडौंस्थित बिग मुभिजमा पुगेका कलाकारहरू दर्शकको सकारात्मक प्रतिक्रियाले निकै उत्साहित देखिए।

दर्शकहरूले फिल्मको गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गुनगुनाउँदै हलबाट निस्किएको दृश्य फिल्मको प्रभावलाई देखाउँछ। धेरै दर्शकले महानायक राजेश हमालको कमब्याकलाई ‘सार्थक’ भन्दै प्रशंसा गरेका छन्।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, नीर शाह, प्रशान्त ताम्राकार, सनिषा भट्टराई, उषा खड्गी, दीपा शाही, राजीवजंग बस्नेत, रमेश चन्द सोडारी, एभिलिना खड्का र समाइरा थापालगायतका कलाकारहरूको अभिनय रहेको छ।

आठ वर्षपछि रजतपटमा फर्किएका राजेश हमाललाई हेर्न दर्शकहरू विशेष उत्साहित देखिए। हलमा उनी देखा पर्ने प्रत्येक दृश्यमा हुटिङ र ताली बजेको सुनिन्थ्यो, जसले उनको लोकप्रियताको प्रमाण दिन्छ।

नेम महर्जन, दीपक प्रसाद ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको संयुक्त लगानीमा बनेको ‘नरसिंहाः अवतार’ पारिवारिक, प्रेम, विछोड र बदलाको कथा समेटिएको सामाजिक-भावनात्मक फिल्म हो।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech