फिल्मी फण्डा। नायक पल शाह र नायिका नीति शाह अभिनीत फिल्म ‘मोहर’को शीर्ष गीतको छायांकन सम्पन्न भएको छ। चितवन र नवलपरासीमा ५ दिन लगाएर छायांकन गरिएको ‘चाहिँदैन मोहर’ बोलको गीतमा पल र नीति रोमान्टिक देखिएका छन्।
गीतमा सुरेश अधिकारीको संगीत, प्रमोद ढुंगानाको शब्द, शरद हुमागाँई र विशाखा साहीको स्वर छ। रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतमा थारु संस्कृतिलाई पनि समेटिएको छ। निर्माण पक्षले यो गीत केही हप्तापछि सार्वजनिक गर्ने तयारी गरेको छ।
फिल्म मेकर्स प्रा.लिको ब्यानरमा बनेको ‘मोहर’ साउन २३ गतेदेखि प्रदर्शनमा आउँदैछ। ओम प्रतिकको लेखन र निर्देशनमा तयार यो फिल्मका निर्माता चुम्बन जंग शाही हुन्। फिल्ममा पल र नीतिसँगै बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र सारा शर्माको अभिनय छ।
दिपेन बस्न्यातको छायांकन, कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द रहेको फिल्ममा गिरिराज घिमिरे मुख्य सहायक निर्देशक र लक्ष्मणराज पौडेल निर्माण नियन्त्रक छन्।
फिल्मको फस्टलुक र केही तस्बिर सार्वजनिक भएसँगै दर्शकको उत्साह बढेको छ।