फिल्मी फण्डा। निर्देशक दीपेन्द्र के. खनालको बहुप्रतीक्षित सामाजिक कथानक चलचित्र ‘के घर के डेरा: घर नम्बर २’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। सन् २०२२ मा रिलिज भएको सफल चलचित्र ‘के घर के डेरा’को सिक्वेलको रूपमा यो चलचित्र दर्शकमाझ आएको हो।
चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, सिर्जना नापित, सञ्जोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ। ट्रेलरमा आर्यन सिग्देललाई ऋणमा परेका घरधनीको भूमिकामा देखाइएको छ भने निश्चल बस्नेत र खगेन्द्र लामिछानेलाई डेरावालको भूमिकामा प्रस्तुत गरिएको छ ।
चलचित्रको कथा चर्चित लेखक बुद्धिसागरले लेखेका हुन्, जसले घरधनी र डेरावालबीचको सम्बन्ध, आर्थिक संघर्ष र सामाजिक यथार्थलाई रोचक तरिकाले प्रस्तुत गरेका छन्। चलचित्र ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण गरिएको हो। शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ निर्माता हुन् भने युवराज कार्की कार्यकारी निर्माता हुन् ।
कृष्णबहादुर थापाको छायांकन रहेको यो चलचित्रको छायांकन काठमाडौं उपत्यका वरपर गरिएको हो। चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछन् । चलचित्र आज, जेठ २ गते, अर्थात् २०८२ सालको जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आएको छ ।