फिल्मी फण्डा। अभिनेत्री ऋचा घिमिरे अमेरिकास्थित शैक्षिक प्रविधि कम्पनी ‘कोड मन्त्र’ की ब्रान्ड एम्बासडर नियुक्त भएकी छन्। यससँगै उनी अमेरिकाबाट अन्तर्राष्ट्रिय कम्पनीको ब्रान्ड एम्बासडर बन्ने पहिलो नेपाली कलाकार बनेकी हुन्।
प्रविधि क्षेत्रमा क्रियाशील ‘कोड मन्त्र’ले कृत्रिम बौद्धिकता, कोडिङ, रोबोटिक्स, गणित र मेशिन लर्निङजस्ता विषयहरूमा बालबालिकाको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको छ। कम्पनीले ऋचाको सामाजिक कार्य र दूरदृष्टिसँग आफ्नो दृष्टिकोण मिल्ने बताउँदै उनलाई ब्रान्ड अनुबन्धन गरेको हो।
ब्रान्ड सम्झौता सँगै आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) भुवन रिजाल, प्रमुख प्राविधिक अधिकृत (CTO) सुजन रिजाल र प्रोडक्ट सल्लाहकार सलोम भट्टले उनलाई औपचारिक रुपमा अनुबन्धित गराएका हुन्।
“यो केवल ब्रान्ड साझेदारी होइन, एउटा सशक्त सांस्कृतिक र प्रविधिक सहकार्यको सुरुवात हो,” ऋचाले भनिन्, “हामी अब एउटा ग्लोबल भिलेजमा बाँचिरहेका छौं, यस्तो सहकार्यले नेपाली कलाकारहरूका लागि अन्तर्राष्ट्रिय ढोका खोल्नेछ।”
केही समयअघि मात्रै ऋचाले अभिनय तथा निर्माणमा संलग्न भएर ‘तेल भिसा’ नामक नेपाली फिल्म निर्माण गरेकी थिइन्। पछिल्लो चरणमा अमेरिकामा बसोबास गर्दै आएकी ऋचाले फिल्म र सामाजिक गतिविधि दुबैमा सक्रियता देखाइरहेकी छन्।