बनेपामा ‘सिनेपाः’ अत्याधुनिक फिल्म स्टुडियो बन्ने, प्रधानमन्त्रीद्वारा बालुवाटारबाट उद्घाटन घोषणा गर्ने

फिल्मी फण्डा। नेपाली चलचित्र उद्योगमा नयाँ युगको सुरुवात हुने भएको छ। बनेपामा निर्माण हुने अत्याधुनिक इन्डोर फिल्म छायांकन स्टुडियोको नाम ‘सिनेपाः’ राखिएको छ। यो नेपालको पहिलो यस्तो स्टुडियो हुनेछ, जसले विश्वस्तरीय प्रविधिमार्फत चलचित्र निर्माणलाई सहज बनाउनेछ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीका अनुसार, ‘सिनेपाः’ नाम ‘सिनेमा’ र नेवार समुदायले नेपाललाई जनाउने ‘पाः’ शब्दको संयोजन हो। “यो नामले हाम्रो संस्कृति, भाषा र चलचित्र क्षेत्रको एकताको सन्देश दिन्छ,” उनले भने।

बनेपा नगरपालिका वडा नं. १० र ११ मा निर्माण हुने यो स्टुडियो सन् २०२६ सम्ममा तयार हुने लक्ष्य छ। बैशाख पहिलो साता ठेक्का स्वीकृत भएसँगै निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढेको छ। स्टुडियो निर्माणका लागि बाहुनडाँडा सामुदायिक वनको २ हेक्टर जग्गा प्रयोग गर्न २०७८ असार २८ को मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो। परियोजनाको कुल लागत ३९ करोड रुपैयाँ अनुमान गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा आयोजित विशेष समारोहमा स्टुडियो निर्माणको औपचारिक शुभारम्भ घोषणा गर्नेछन्। यसअघि बनेपामा शिलान्यास गर्ने योजना भए पनि अन्तिम समयमा बालुवाटारबाटै घोषणा गर्ने निर्णय भएको हो।

“यो स्टुडियो नेपाली चलचित्रकर्मीको दशकौं पुरानो सपना हो। अत्याधुनिक प्रविधियुक्त यो स्टुडियोले नेपाली फिल्म उद्योगलाई नयाँ उचाइमा पुर्‍याउनेछ,” अध्यक्ष डीसीले उत्साहित हुँदै भने। उनका अनुसार, स्टुडियोले स्वदेशी चलचित्र निर्माणमा सहजता ल्याउनुका साथै विदेशी निर्माताहरूलाई नेपालमा छायांकन गर्न आकर्षित गर्नेछ।

यो परियोजनालाई चलचित्र विकास बोर्डले ‘नेपाली चलचित्र उद्योगको गौरव’ को रूपमा अघि सारेको छ। स्टुडियोले प्राविधिक सीमितताका कारण नेपाली फिल्ममा देखिने समस्यालाई समाधान गर्नेछ र विविध विधाका चलचित्र निर्माणमा योगदान पुर्‍याउनेछ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech