फिल्मी फण्डा। अब नेपाली चलचित्रको आम्दानी लुकाउन सकिने अवस्था अन्त्य हुने देखिएको छ। चलचित्र विकास बोर्डले ‘रियल टाइम बक्स अफिस’ प्रणालीको परीक्षण सुरु गरेको छ, जसअन्तर्गत देशभरका सिनेमा घरबाट प्राप्त आम्दानी प्रत्यक्षरूपमा अनलाइनमार्फत हेर्न सकिनेछ।
बोर्डले परीक्षणकालका लागि केही सिनेमा हलहरूमार्फत उक्त प्रणाली सञ्चालनमा ल्याएको हो। परीक्षण सफल भएमा निकट भविष्यमा देशभरका सिनेमा हलमा यो प्रणाली अनिवार्य बनाइनेछ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल ‘दिनेश डिसी’ का अनुसार नयाँ प्रणालीले नेपाली फिल्म क्षेत्रलाई पारदर्शी र व्यवस्थित बनाउनेछ। “अब फिल्मको कति कलेक्शन भयो भन्ने कुरा अनुमानले होइन, तथ्यले बोल्नेछ,” उनले भने।
यस प्रणालीमार्फत सिनेमा हलहरूमा भएको टिकट बिक्री बोर्डको डिजिटल प्रणालीमा स्वतः रेकर्ड हुनेछ। हलले दिनहुँको कारोबार बोर्डलाई प्रत्यक्षरूपमा उपलब्ध गराउनुपर्नेछ।
बोर्डका अनुसार, अबदेखि चलचित्रको आम्दानी सार्वजनिक गर्दा निर्माता वा वितरकले प्रमाणसहित विवरण दिनुपर्नेछ। यसले फिल्म क्षेत्रभित्रको आर्थिक पारदर्शिता बढाउने विश्वास गरिएको छ।
सिस्टम सफल भएमा निर्माता, वितरक, सिनेमा हल सञ्चालक तथा दर्शक सबैका लागि विश्वसनीय तथ्यांक प्राप्त हुने बोर्डको दाबी छ। परीक्षणका क्रममा देखिएका चुनौती समाधान गरेर प्रणालीलाई अझ मजबुत बनाउने योजना रहेको बोर्डले जनाएको छ।