फिल्मी फण्डा। नेपाली सिनेमाको विविधता झल्काउने दुई चलचित्र ‘ऊनको स्वीटर’ र ‘जार’ आजबाट देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आएका छन्।
नवीन चौहान निर्देशित चलचित्र ‘ऊनको स्वीटर’ पाँचथरको ग्रामीण परिवेशमा आधारित सामाजिक कथा हो। अभिनेता विपिन कार्कीले मुख्य पात्र धरणीधर काफ्लेको भूमिका निभाएका छन्। मिरुना मगर, विल्सन विक्रम राई, एलेक्स पारस , सुनिल पोखरेल र परीक्षा लिम्बूको अभिनय रहेको यो चलचित्रले ग्रामीण जीवनको यथार्थ प्रस्तुत गर्ने प्रयास गरेको छ।
काठमाडौंको बिग मुभिजमा बुधबार गरिएको प्रिमियरमा चलचित्रले सकारात्मक प्रतिक्रिया बटुलेको छ। २ घण्टा २७ मिनेट लामो यस चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएको छ भने अग्रिम टिकट बिक्री पनि उत्साहजनक रहेको निर्माण पक्षले जनाएको छ।
फुर्वा छिरिङ लामा निर्देशित ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित ऐतिहासिक चलचित्र हो। गोर्खाली समाजको २२५ वर्ष पुरानो पृष्ठभूमिमा आधारित चलचित्रमा अनुपविक्रम शाही, सौगात मल्ल र भारतीय अभिनेत्री गीताञ्जली थापाको अभिनय रहेको छ।
ललितपुरको लबिम मल र सिक्किमको गान्तोकमा गरिएको प्रिमियरमा चलचित्रको कथा र प्राविधिक पक्षको प्रशंसा भएको थियो। तर, केही दर्शकले हलमा कम शो पाएको गुनासो सामाजिक सञ्जालमा गरेका छन्, जसले चलचित्रको व्यापारमा असर पार्न सक्ने अनुमान गरिएको छ।
‘ऊनको स्वीटर’ ले ग्रामीण जीवन र संस्कृति झल्काउँछ भने ‘जार’ ले इतिहास र साहित्यको माध्यमबाट नेपाली समाजको गहिरो पक्ष उजागर गर्छ। दुवै चलचित्रले फरक स्वाद दिने प्रयास गरेका छन्।