फिल्मी फण्डा। सामाजिक जागरण, समसामयिक राजनीति र आमनागरिकको कर्तव्यबोध विषयवस्तुमा आधारित नेपाली फिल्म ‘बिगुल’ को मुहूर्त बुधबार कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा सम्पन्न भएको छ। अक्षय तृतीयाको शुभ अवसर पारेर गरिएको उक्त मुहूर्त कार्यक्रममा कलाकार तथा निर्माण पक्षको उपस्थिति रहेको थियो।
रमेश कोइरालाको निर्देशनमा बन्ने फिल्म ‘बिगुल’ को छायांकन बैशाखको तेस्रो साताबाट सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ। मुहूर्त शटमा कलाकार बेनिशा हमाल र नरेन खड्काले अभिनय गरेका थिए।
चलचित्र विकास बोर्डका पूर्व सदस्य राजेन्द्र केसीले क्यामेरा स्विच अन गरेका थिए भने निर्देशक प्रदीप श्रेष्ठले क्ल्याप दिएका थिए। चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीको संयोजनमा सम्पन्न मुहूर्तमा निर्देशक सुचित्रा श्रेष्ठले नारिवल फोरेकी थिइन्।
मुहूर्त शटमा अभिनेता नरेन खड्काले सामाजिक जागरणको सन्देशसहित संवाद बोलेका थिए। सोही क्रममा अभिनेत्री हमालले स्वतन्त्रता र शान्तिको प्रतीकस्वरूप दुईवटा परेवा उडाएकी थिइन्।
फिल्मको कथा दिनेश कोइरालाले लेखेका हुन् भने पटकथा र संवाद मौनता श्रेष्ठले तयार पारेकी हुन्। फिल्मको छायांकन शिव ढकालले गर्नेछन्।
म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुति कल्पना पौडेलको रहनेछ। निर्माता महेश कोइराला र सूर्यकान्त कोइराला हुन्। फिल्ममा नरेन र बेनिशासँगै नीर शाह, रमेश बुढाथोकी, गीता अधिकारी, हेमन्त बुढाथोकी, जेएन घिमिरे, सुमोद भारद्वाज, बिनयराज पौडेल, सुपा खनाल, बबि भारती, तुलसी लम्साल, जयन्त रेग्मी, विकास अधिकारी र बालकलाकार श्रेयान्सी थपलिया अभिनय गर्दैछन्।
गीततर्फ विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको फिल्ममा कोरियोग्राफी कविराज गहतराजको रहनेछ। निर्माण व्यवस्थापन श्याम केसीले सम्हाल्नेछन्।