फिल्मी फण्डा। आगामी वैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जार’को वर्ल्ड प्रिमियरका लागि निर्माण टिम सिक्किम प्रस्थान गरेको छ। निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डे, कलाकार सौगात मल्ल, अनुपविक्रम शाही र संगीतकार झुमा लिम्बुसहितको टोली मंगलबार बिहान सिक्किमतर्फ प्रस्थान गरेको हो।
फिल्मको वर्ल्ड प्रिमियर बुधबार सिक्किमको राजधानी गान्तोकमा हुँदैछ। निर्देशक लामाका अनुसार कार्यक्रममा फिल्म, साहित्य र कला क्षेत्रका दिग्गज, राजनीतिज्ञ, व्यवसायी र समाजसेवीहरूको उपस्थिति रहनेछ। सिक्किमपछि मे ३ मा सिलिगुडीमा दोस्रो प्रिमियर हुने तय छ। दार्जिलिङमा पनि प्रचारात्मक कार्यक्रम आयोजना गरिने निर्माण पक्षले जनाएको छ।
‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ। फिल्ममा सौगात र अनुपविक्रमसँगै भारतीय राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको मुख्य भूमिका छ।
सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन रहेको छ। होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण गरिएको फिल्मका कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।