हेटौंडाबाट काठमाडौंसम्म: ध्रुव न्यौपानेको निर्माता बन्ने यात्रा

फिल्मी फण्डा। ‘हिरो बन्नुपर्छ, मौका परे कुनै दिन।’ ध्रुव न्यौपानेलाई यो सोच कहिले र कसरी आयो, उनलाई थाहा छैन। तर बाल्यकालदेखि नै ‘कलाकार बन्छु’ भन्ने रहर भने मनमा बिझिरह्यो। रहर त थियो, तर आफूभित्र कस्तो कलाकार लुकेको छ भन्ने उनले सोच्नै पाएनन्। गन्तव्य स्पष्ट नभएको यात्रामा सँगै हिँड्ने कोही थिएन।

‘रहर त सबैको कहाँ पूरा हुन्छ र? लाग्नु र पाउनु फरक कुरा हो,’ बाल्यकाल सम्झिँदै उनी भन्छन्। रहरलाई थन्क्याउँदै उनले पैसाको खोजी सुरु गरे। परिस्थिति बदलिँदै गयो। हेटौंडाबाट काठमाडौं झरे। नयाँ बानेश्वरमा ‘रोजमेरी क्याफे’ खोल्दै रेस्टुरेन्ट व्यवसाय थाले। क्याफे प्राइम लोकेसनमा भएकाले कलाकार तथा फिल्मकर्मीहरूको आवतजावत बाक्लो थियो। त्यसैमार्फत चिनजान बढ्यो।

‘तपाईंजस्तो मान्छेले रंगिन दुनियाँमा आउनुपर्छ’ भन्ने फिल्मकर्मीहरूको उत्साहले भित्रै दबिएको रहर फेरि जाग्यो। त्यसपछि उनले म्युजिक भिडियोबाट अभिनय यात्रा थाले। ‘झन्डै ५० वटा भिडियोमा काम गरेँ,’ उनी सम्झन्छन्।

त्यही क्रममा उनले फिल्म अभिनयको अवसर पाए। फिल्मकर्मीहरूसँगको सम्बन्धले उनलाई ‘प्लान’ फिल्ममा अभिनय गर्ने अवसर दियो। त्यसपछि ‘सन्त्रास’, ‘क्राइम’, ‘द क्राइम’, ‘पायल’ जस्ता फिल्ममा काम गरे। तर उनी भन्छन्, ‘कुनै फिल्ममा पैसा हालेर खेलेको होइन, कतिपयमा त सित्तैमा काम गरें।’

त्यसैबीच कोभिड महामारी सुरु भयो। अभिनयको गति रोकियो। त्यसपछि उनी फिल्म क्षेत्रमा निर्माता बन्ने योजनासहित अघि बढे। ‘कलाकार भन्दा पनि निर्माता बन्ने योजना बनाएँ। व्यवसायिक दृष्टिकोणले अघि बढ्न चाहन्छु,’ उनी भन्छन्।

उनले ‘ध्रुवतारा फिल्म्स’को ब्यानरमा ‘हिरो रिटर्न्स’ निर्माण गरे। तर महामारीका कारण फिल्मले सफलता पाएन। ‘फिल्म चलेन, तर व्यापारमा सफलता–असफलता स्वाभाविक हो,’ उनी भन्छन्।

असफलताबाट विचलित नभई उनले अर्को फिल्म ‘मायावी’ बनाए। त्यो पनि नचलेपछि ‘नरसिंहा अवतार’ लिएर दर्शकमाझ आउन लागेका छन्।‘म निर्माता मात्रै होइन, अब राम्रो प्रोडक्सन हाउस सञ्चालन गर्ने योजनासहित अघि बढेको छु,’ उनी भन्छन्, ‘ध्रुवतारा फिल्म्सले हरेक वर्ष कम्तिमा एउटा फिल्म बनाउनेछ।’

ध्रुव ‘चेतना कन्स्ट्रक्सन’ नामक ‘क’ वर्गको निर्माण कम्पनी र होटल मुनस्टारमा सह–लगानीकर्ता पनि हुन्। त्यसैले उनलाई आत्मविश्वासी हुनु अस्वाभाविक छैन। उनी भन्छन्, ‘म एउटा हारले थच्चिने मान्छे होइन, प्रयास गर्न कहिल्यै छाड्दिन।’


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech