फिल्मी फण्डा। चर्चित जाेडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अभिनीत नयाँ फिल्म पाँच पाण्डव निर्माण हुने भएको छ। वसन्त निरौलाको निर्देशन रहने फिल्मको निर्माण कल्याणी साखले गर्नेछिन्।
चलचित्र विकास बोर्डले चैत १७ गते फिल्म निर्माणको स्वीकृति दिएको हो। बोर्डमा दर्ता विवरणअनुसार फिल्मको अनुमानित बजेट ३ करोड ३२ लाख रुपैयाँ छ। काली रानी फिल्म्सको ब्यानरमा बन्ने फिल्मलाई हाल निर्माणको तयारी गरिँदैछ।
धुर्मुस र सुन्तलीले पछिल्लोपटक सँगै अभिनय गरेको फिल्म सेन्टी भाइरस पाँच वर्षअघि सार्वजनिक भएको थियो। धुर्मुस पछिल्लो पटक लाज शरणम् मा देखिएका थिए। फिल्मका निर्मात नबिन श्रेष्ठ हुन। उनले लाज शरणम फिल्म निर्माण गरेका हुन । जुन फिल्म अहिले पनि ५१ दिन पार गरेर रिलिज भईरहेको छ ।
निर्देशक निरौलाको पछिल्लो निर्देशन ज्वाइँ साब गत दशैंमा प्रदर्शनमा आएको थियो। पाँच पाण्डव बारे निर्माताले औपचारिक जानकारी सार्वजनिक गरिसकेका छैनन्। तर धुर्मुस र सुन्तलीलाई फेरि एउटै पर्दामा देख्न पाइने खबरले दर्शकमाझ उत्साह थपिएको छ।