काठमाडौं । ग्रामीण जीवनको कथा बोकेको नयाँ सिनेमा ‘कार्की साइँला’ को सोमबार स्क्रिप्ट पूजा गर्दै छायांकन शुभारम्भ गरिएको छ। राजधानीको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा पूजा गरिएको सिनेमाले भुइँमान्छेको संघर्ष बोल्नेछ।
सिनेमामा अभिनेता जितु नेपाल र अभिनेत्री वर्षा सिवाकोटी मुख्य भूमिकामा छन्। उनीहरुकै उपस्थितिमा मुहूर्त सट दिइएको थियो।
एक्सन–कट निर्देशक जनकदीप पराजुलीले बोले, क्ल्याप निर्माता सुशील पोखरेलले दिए। क्यामेराको स्विच डम्बरबहादुर राईले अन गरे। निर्माता तथा कलाकार उग्रसन ढुङ्गानाले नरिवल फोरेर क्यामेरा पूजा गरे।
कर्णबहादुर फिल्म्सको ब्यानरमा बन्ने सिनेमाको निर्देशन राजेन्द्र बस्नेतले गर्ने छन्। प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ र निर्माता बालकुमार राई रहेका छन्।
सिनेमामा द्वन्द्व निर्देशन राजु किराँती, सङ्गीत बाबुल गिरी, नृत्य कमल राई, गीतकार तथा सह–निर्देशक जीवननाथ गौतम, पटकथा तथा संवाद लेखन अजित लामिछानेको रहेको छ।
मुख्य कलाकार वर्षा र जितुसँगै गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर र मनिल तामाङले पनि अभिनय गर्नेछन्।
निर्देशक बस्नेतका अनुसार सिनेमाको केन्द्रमा भरियाको पात्र छ। उनले भने, "सामान्य जीवन बाँच्ने पात्रहरूको कथा पर्दामा ल्याउन खोजिएको हो।"
सिनेमाको छायांकन आगामी वैशाख २० गतेदेखि धनकुटा जिल्लाका विभिन्न स्थानमा सुरु हुने निर्माण पक्षले जनाएको छ। अन्य केही भूमिकाका लागि कलाकार छनोट प्रक्रिया पनि अघि बढाइएको छ।