विन्ध्यवासिनी म्युजिक अवार्ड १५औं संस्करण सम्पन्न

फिल्मी फण्डा। विन्ध्यवासिनी फाउन्डेसनको आयोजना र मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा बिहीबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न भएको छ।

समारोहमा "जुन माया" बोलको गीतलाई सर्वोत्कृष्ट गीत घोषित गरियो। राज सिग्देलले "हृदयमा" बोलको गीतबाट सर्वोत्कृष्ट गायक र उषा गजुरेलले "मौसम आउलाले" बोलको गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड जिते।

यस्तै, श्रीधर अधिकारीले "छौ नि तिमी आहाबाट" उत्कृष्ट संगीतकार, बैकुण्ठ महत र बेनिशा पौडेलले "पिरिम गाडीबाट" उत्कृष्ट युगल गायन अवार्ड, विनोद श्रेष्ठ र उषा सुवेदीले "विदाई २" बाट मोडल जोडीको अवार्ड प्राप्त गरे।

अर्जुन सापकोटाले "बस्यौ अलक्कै" गीतबाट लोकदोहोरी गायक, कविता खत्रीले "नमस्ते ढोगदिया" बाट लोकदोहोरी गायिका, खेम पुनले "मर्ने सुई लाईदेउ" बाट लोकदोहोरी भाका, नारायण ज्ञवालीले "कन्या राशी" बाट लोकदोहोरी गीत रचना, निशान बानियाँले "भाग्यमै रुन लेखेको" बाट लोकदोहोरी भिडियो निर्देशकको अवार्ड जिते।

यस वर्षको अवार्ड समारोहमा १७ प्रतिस्पर्धात्मक अवार्डहरू प्रदान गरिए। विशाल घिमिरेले "मेरी बाठी माया बोलको" गीतबाट आधुनिक गीत म्युजिक भिडियो निर्देशक, अमृत चापागाईले "मायाली" बाट भिडियो सम्पादक, पवन सुस्लिङले "मायालाई पानको पातबाट" छायाँकारको अवार्ड प्राप्त गरे।

स्मृति तिमल्सिनालाई "नेपालमा रेल कहिले आउलाबाट" निर्देशक, सञ्जय देवकोटालाई "कुरा बुझिदेउ नबाट" गायक, विक्रम बुढाथोकी र एलिना रायमाझीलाई "हारेँ मैले मायामाबाट" अभिनयका लागि, खेम सेन्चुरीलाई "तल्लो बाटोबाट" संगीतकार र सन्तोष सापकोटालाई "दुःख साटम्लाबाट" गीतको अवार्ड प्राप्त भयो।

सङ्गीतकार राजेन्द्र थापालाई बिन्ध्यबासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८१ दिइयो। गायिका संगीता शाक्यलाई बिन्ध्यबासिनी संंगीत साधना सम्मान र गायिका निशा देसारलाई प्रेमध्वज संगीत रत्न सम्मान पनि प्रदान गरियो।

समारोहको विशेष आकर्षण पल शाह र गायक दुर्गेश थापाको प्रस्तुति थियो। पल शाहले नृत्य प्रस्तुत गर्दा दुर्गेशले आफ्ना चर्चित गीतको प्रदर्शन गरे।

कार्यक्रमको समापनमा फाउन्डेशनकी अध्यक्ष लीना शर्मा रेग्मीले आगामी वर्षबाट प्रतिस्पर्धात्मक विधा घटाएर सबै विजयीलाई नगद पुरस्कारको ब्यवस्था गरिने जानकारी गराइन्।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech