फिल्मी फण्डा। नयाँ वर्षको अवसर पारेर आउँदो शुक्रबार (चैत २९) बाट दुई नेपाली एक्सन फिल्म ‘पिताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा आउँदैछन्।
कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’ र सौरभ चौधरीको निर्देशनमा तयार भएको ‘कर्मा’ को एडभान्स बुकिङ मल्टिप्लेक्स हलहरूले सुरु गरिसकेका छन्।
क्युएफएक्स, आईएनआई सिनेमाज र विग मुभिजले मंगलबारदेखि फिल्मको शो तालिका सार्वजनिक गर्दै बुकिङ खुलाएका हुन्। हालसम्मको जानकारी अनुसार मल्टिप्लेक्सहरूमा ‘पिताम्बर’ ले ‘कर्मा’ भन्दा बढी शो पाएको छ।
स्टार कलाकारको जमघट रहेको ‘पिताम्बर’ मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, दिब्या रायमाझी र सुपुष्पा भट्टको अभिनय छ।
‘कर्मा’ मा भने विपीन कार्की, मुकुन भुसाल र उपासना सिंह ठकुरीले अभिनय गरेका छन्। दुवै फिल्म एक्सन जनरामा निर्माण भएका हुन्।