फिल्मी फण्डा । साउथ स्टार जगपति बाबु, जो 'पुष्पा २' मा मुख्यमन्त्रीको भूमिकामा देखिएका थिए, मंगलबार कीर्तिपुरमा आगामी फिल्म 'मिराई'को छायांकन सुरु गरेका छन्। सोमबार राती काठमाडौंमा अवतरण गरेका उनले आजदेखि छायांकन सेटमा काम गर्न थाले।
केही दिनको नेपाल बसाइका क्रममा जगपतिले फिल्मको छायांकनसँगै नजिकका पर्यटकीय स्थलहरूको भ्रमण गर्ने योजना बनाएका छन्। निर्माण नियन्त्रक पुष्कर लामाका अनुसार, जगपति कीर्तिपुरमा भइरहेको छायांकन सेटमा उपस्थित भएका छन्।
भारतका तामिल, कन्नडा, मलायलम र हिन्दी फिल्महरूमा चर्चित जगपति बाबुले हाल नेपालमा पनि चलिरहेको 'पुष्पा २' मा मुख्यमन्त्रीको भूमिका निर्वाह गरेका छन्।
'मिराई' फिल्मको दोस्रो चरणको छायांकन काठमाडौं, भक्तपुर, कीर्तिपुर, दोलखा, पोखरा र मुस्ताङमा हुनेछ। छायांकनको प्रक्रिया १६ दिनसम्म चल्नेछ। अभिनेत्री श्रीया शरण, जो 'दृश्यम' र 'दृश्यम २' का लागि पनि परिचित छन्, आइतबार काठमाडौं आइपुगेकी थिइन् र उनी फिल्ममा सहभागी हुने छिन्।