फिल्मी फण्डा । फिल्म ‘जवान’का अभिनेता सांगे सेल्ट्रिम शनिबार काठमाडौं आइपुगेका छन् । अभिनेता प्रदीप खड्काको निम्तोमा नेपाल आएका सांगेको काठमाडौं भ्रमणमा व्यस्त छन । उनको नेपाल भ्रमणको तीन उद्देश्य रहेको छ ।
पहिलो– प्रदीपको शीर्ष भूमिका रहने फिल्म ‘ऐरी’बारे छलफल, दोस्रो– काठमाडौं घुमघाम र तेस्रो– उनी समेत सञ्चालक रहेको भुटानको ओटीटी एप सांग्रिलामा नेपाली कन्टेन्ट पनि राख्नेबारे बजार सम्भाव्यताको खोजी ।
दुईजना अन्य कलाकारसँगै शनिबार काठमाडौं उत्रिएका सांगेले राति अबेरसम्म ठमेल क्षेत्र घुमे । त्यहाँको क्लब एलओडीबारे धेरै कुरा सुनेका उनी त्यहाँ पनि पुगेका थिए । शनिबार साँझ प्रदीपले हालै सञ्चालनमा ल्याएको ‘प्याराडाइज’ रेस्टुरेन्टमा पुगेर लाइभ म्युजिकमा पनि भाग लिए ।
यसअघि भारतमा समेत प्रदीप र सांगेबीच भेट भइसकेको छ । मंगलबार भारत फर्किने सांगेको योजना छ ।