काठमाडौँ। अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा निर्माण भएको फिल्म ‘छत्तीसको आँकडा’को प्रदर्शन मिति तय भएको छ। फिल्म आगामी मंसिर १७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो।
सोमबार अभिनेत्री रेखा थापाले सञ्चालन गर्दै आएको ‘बीआर क्याफे’मा अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर फिल्मको रिलिज मिति घोषणा गरिएको हो।
रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको प्रदर्शन मिति तय भएसँगै निर्माण पक्षले प्रचारप्रसारलाई तीव्रता दिने तयारी गरेको छ। फिल्मको पहिलो गीत घटस्थापनाका दिन सार्वजनिक गरिने भएको छ।
निर्देशक सबिर श्रेष्ठले निर्देशन गरेको फिल्मको कथाको केन्द्रमा दुई महिला पात्रबीचको द्वन्द्वलाई राखिएको छ। फिल्ममा रेखा थापा र पूजा शर्मालाई फरक भूमिकामा प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक पोस्टरले पनि यी दुई अभिनेत्रीबीचको पर्दाको टकरावलाई संकेत गरेको थियो।
पोस्टरमा प्रहरी अधिकारीको भूमिकामा देखिएकी रेखाले पूजालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ। रेखाको पात्र संघर्षपछि प्राप्त सफलताको भावमा देखिँदा पूजाको पात्र भने प्रतिरोध गरिरहेको अवस्थामा प्रस्तुत गरिएको छ। पोस्टर सार्वजनिक भएपछि फिल्मको कथालाई लिएर दर्शकमाझ चासो बढेको थियो।
फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का र निरुता सिंहको मुख्य अभिनय रहेको छ। रेखाको जोडीका रूपमा महेश त्रिपाठी तथा पूजाको जोडीका रूपमा पुष्प खड्का देखिनेछन्। पुष्प र पूजा पहिलो पटक जोडीका रूपमा पर्दामा देखिन लागेका हुन्।
‘छत्तीसको आँकडा’मार्फत रेखा र निरुताले पनि लामो समयपछि सहकार्य गर्दैछन्। यसअघि उनीहरूले ‘दुई पल’मा सँगै अभिनय गरेका थिए।
सबिर श्रेष्ठ र रेखा थापाले यसअघि ‘रामप्यारी’, ‘तथास्तु’, ‘काली’, ‘इशारा’ र ‘कसले चोर्यो मेरो मन’ लगायत फिल्ममा सहकार्य गरेका छन्। रेखा र पूजाले ‘उपहार’पछि पुनः एकसाथ काम गर्न लागेका हुन्।
फिल्मको नेपालभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।