काठमाडौँ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी फिल्म ‘जिरो डिग्री’को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमार्फत फिल्म आगामी २०८३ साल माघ १५ गते अर्थात् जनवरी २९, २०२७ देखि नेपालका हलमा प्रदर्शन हुने जानकारी दिएको हो।
नयाँ पोस्टरमा अभिनेता विजय बराललाई फिल्मका प्रमुख पात्र ‘पुन्य चौलागाईँ’को फरक अवतारमा प्रस्तुत गरिएको छ। ढाका टोपी, बाक्लो जुँगा, चस्मा र परम्परागत पहिरनमा घोडामाथि सवार विजयको अगाडि र पछाडि दुईवटा पंखा बोकेर हिँडिरहेको दृश्यले पोस्टरलाई व्यङ्ग्यात्मक र कौतूहलपूर्ण बनाएको छ।
फिल्मको कथा सडक सञ्जाल राम्रोसँग नपुगेको विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किउन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा उत्पन्न हुने उथलपुथलपूर्ण तथा रमाइला परिस्थितिको वरिपरि घुमेको छ। यसअघि निर्माण पक्षले गाउँलेहरूले पहाडी बाटो हुँदै ठूलो काठको बाकस बोकेको दृश्यसहितको पोस्टर सार्वजनिक गरेको थियो।
फिल्मको कथा तथा पटकथा सजन काफ्ले र आकास बरालले तयार पारेका हुन्। उनीहरूले नै संयुक्त रूपमा फिल्मको निर्देशन गरेका छन्। हिट फिल्म ‘बेहुली फ्रम मेघौली’पछि यो जोडीको दोस्रो सहकार्यमा ‘जिरो डिग्री’ निर्माण भएको हो।
कास्कीका धिताल गाउँ, अर्मलाकोट, घार्मी र बगरलगायतका रमणीय बस्तीमा छायाङ्कन गरिएको फिल्ममा विजय बराल, सनिशा भट्टराई, राजन भुसाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सुवर्ण थापा, सञ्जोग रसाइली, प्रवेश क्षेत्री र शारदा सिलवाललगायत कलाकारको अभिनय छ।
मोती कार्की कार्यकारी निर्माता रहेको फिल्मको छायाङ्कन निशाल पौडेलले गरेका हुन्। चानस पुन मगर सम्पादक, राजेन्द्र मोक्तान रङ्ग संयोजक तथा अङ्कित बाबु अधिकारी संगीतकार हुन्। फिल्मको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेका हुन्।
फिल्मलाई काठमाडौँ उपत्यकाबाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डीसीएनले वितरण गर्नेछ।