विनयराज निर्देशित फिल्म ‘अक्षरा’ असोज २३बाट हलमा

काठमाडौँ। विनयराज पौडेलको निर्देशनमा बनेको नेपाली फिल्म ‘अक्षरा’ आगामी शुक्रबार अर्थात् असोज २३ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ।

फिल्मले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सर्वसाधारण सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ (यू) प्रमाणपत्र प्राप्त गरिसकेको छ।

छोरीको इच्छाविपरीत अभिभावकले जबरजस्ती विवाह गरिदिँदा उत्पन्न हुने पारिवारिक समस्या र त्यसले समाजमा पार्ने प्रभावलाई फिल्मले कथाको मुख्य विषय बनाएको छ।

‘क्षित बाबु प्रोडक्सन हाउस’को ब्यानरमा निर्मित फिल्ममा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्। उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी र गीता अधिकारीलगायत कलाकारको अभिनय छ।

सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्मको कथा निर्माता उग्रसेन ढुङ्गानाको हो। पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन्।

दिपेन बस्न्यातको छायाङ्कन, गौतम खड्काको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन र कर्णराज गिरीको संगीत रहेको फिल्मलाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech