पत्रकार नवीन प्यासीलाई सन्तोषबाबु लोहनीको सहयोग

काठमाडौँ। चलचित्र विकास बोर्डका सदस्य तथा फिल्म निर्देशक सन्तोषबाबु लोहनीले समस्यामा परेका चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिएका छन्। उपचाररत फिल्म पत्रकार नवीन प्यासीलाई उनले भदौ महिनामा फिल्म जाँचपास गरेबापत प्राप्त पारिश्रमिकबाट १५ हजार ७५० रुपैयाँ सहयोग गरेका हुन्।

चलचित्र जाँचपास समितिका सदस्यसमेत रहेका लोहनीले भदौमा नौवटा नेपाली फिल्मको जाँचपास गरेबापत प्राप्त रकममध्ये १५ हजार ७५० रुपैयाँ प्यासीको उपचारका लागि प्रदान गरेका हुन्। काठमाडौँको सिनामंगलस्थित स्टुइट केएमसी अस्पतालमा उपचाररत प्यासीलाई लोहनीले अस्पतालमै पुगेर उक्त रकम हस्तान्तरण गरेका थिए।

लोहनीले आफूले चलचित्र क्षेत्रमा काम गरेबापत प्राप्त गर्ने जाँचपास भत्तालाई समस्यामा परेका चलचित्रकर्मी तथा सञ्चारकर्मीको सहयोगमा खर्च गर्ने अभियान अघि बढाएका छन्।

यसअघि असार महिनामा उनले नौवटा नेपाली फिल्मको जाँचपास गरेबापत प्राप्त सम्पूर्ण भत्ता उपचाररत कलाकार कोपिला थापाको उपचारका लागि सहयोग गरेका थिए। करिब तीन वर्षअघि भारतमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी थापा लामो समयदेखि उपचाररत छिन्।

त्यसैगरी, साउन महिनामा १० वटा नेपाली फिल्मको जाँचपास गरेबापत प्राप्त १७ हजार ५०० रुपैयाँ लोहनीले वरिष्ठ कलाकार शान्ति रानालाई जीविकोपार्जन तथा औषधोपचारका लागि प्रदान गरेका थिए।

आफूले काम गर्ने क्षेत्रमा कोही समस्यामा पर्दा सोही क्षेत्रबाट सहयोग गर्नुपर्छ भन्ने सोचका साथ लोहनीले जाँचपास भत्ता सहयोग गर्ने निर्णय गरेका हुन्। सोही निर्णयअनुसार उनले लगातार तीन महिनाको जाँचपास भत्ता तीन फरक व्यक्तिलाई सहयोग गरेका छन्।

उनको अभियानअन्तर्गत असारमा कोपिला थापा, साउनमा शान्ति राना र भदौमा फिल्म पत्रकार नवीन प्यासीले सहयोग प्राप्त गरेका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech