फिल्मी फण्डा । दीपेन्द्र के खनालले नयाँ फिल्म ‘घर नम्बर २’ निर्देशन गर्ने भएका छन् । शुक्रबार टिजर पोस्टर सार्वजनिक गर्दै उनले यो फिल्म ‘के घर के डेरा’को सिरिज हुने फिल्मी फण्डासँग भने ।
अहिले यो फिल्मको पटकथा साहित्यकार बुद्धिसागरले लेखिरहेको उनी बताउँछन् । ‘अहिले स्क्रिप्ट लेखनको अन्तिम चरणमा काम भइरहेको छ,’ खनालले फिल्मी फण्डासँग भने । सन् २०८१ को तिहारमा प्रदर्शन मिति तय गरिएको छ ।
उनले ‘के घर के डेरा’को सिरिज भए पनि सिक्वेल भने नहुने बताए । ‘यसमा अघिल्लो फिल्मको भन्दा पूर्णतयाः भिन्न कथावस्तु हुनेछ । अघिल्लो फिल्ममा गर्न बाँकी कामलाई हामीले यसमा प्रस्तुत गर्दैछौं,’ उनले भने ।
‘मनोरञ्जन त हुने नै भयो । हाँसो रोदन सबै तत्वको मिश्रण यसमा हुनेछ । अघिल्लो भागमा गर्न बाँकी कामलाई अर्थपूर्ण हिसाबले यसमा प्रस्तुत गर्न लागेका हौं,’ उनले जनाए । फिल्मले सहरमा बसोबास गर्ने डेरावालको संघर्षको कथा पेश गर्नेछ । पोस्टरले फिल्मको सेटिङ चित्रणको प्रयास गरेको छ ।
यो फिल्मलाई ए प्लस इन्टरटेनमेन्ट र नटराज क्रिएसनको ब्यानरमा निर्माण हुने पोस्टरमा उल्लेख छ । ‘के घर के डेरा’कै कलाकारलाई दोहोर्याउनेबारे निधो नभएको खनालले बताए । उनले यसमा सम्भवतः नयाँ कलाकार पनि हुन सक्ने उनले संकेत गरे । ‘कास्ट लगायतका कुरामा पछि प्रकाश पार्नेछौं,’ उनले भने ।
आगामी वर्षका लागि दीपेन्द्रको यो लाइनअप फिल्म हुनेछ ।