फिल्मी फण्डा । प्रकाश सपुतले नयाँ गित ल्याउनु अनि गित विवादमा नतानिनु यो कुनै नौलो विषय होइन । तर यतिबेला उनी नयाँ गित नभएर पुरानो एक म्युजिक भिडियो छायाङ्कनको क्रममा इनारमाथि नाचेको दृश्यले विवादमा तानिएका छन् ।
उनले मोडल सुनिता बुढासँग इनारमाथि नाचेको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल छ । सो भिडियोलाई लिएर सामाजिक सञ्जालमा उनको विभिन्न खाले टिप्पणी र आलोचना भईरहेको छ । भिडियोमा उनले सुनिता बुढासँग काठमाडौँको वसन्तपुरस्थित कुमारी घरनजिकै रहेको इनारमाथि नाचेको देखिन्छ । जीवित देवी कुमारीले प्रयोग गर्ने इनारमा नाचेपछि आलोचना भएको हो ।
कुमारीले प्रयोग गर्ने पानी ल्याउने इनारमा ‘सुटिङ गरेर’ नेवाः सभ्यता र संस्कृतिमाथि अपमान गरेको समेत उनलाई आरोप छ । भिडियो क्लिप करिब चार महिनाअघि ‘कमाउने नि हो, रमाउने नि हो’ भन्ने बोलको गीतको सुटिङ हो । यो गीतको पूरा भिडियो छायाङ्कन हनुमान ढोका दरबार परिसरमा भएको थियो ।