दसैँमा आउने ‘आ बाट आमा २’ को हङकङ राइट्स बिक्री

फिल्मी फण्डा । आगामी असोज ३० गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘आ बाट आमा २’ को हङकङ प्रदर्शन अधिकार बिक्री भएको छ। फिल्मको छायाङ्कन कार्य पूर्ण नहुँदै हङकङस्थित श्री स्वर्णिम कम्युनिकेसन प्रा.लि.ले यसको प्रदर्शन अधिकार खरिद गरेको हो।

हङकङ राइट्स बिक्री भएसँगै निर्माण टिम उत्साहित बनेको छ। निर्देशक चन्द्र पन्तका अनुसार फिल्मको प्रदर्शन अधिकार उल्लेख्य रकममा बिक्री भएको भए पनि व्यापारिक कारणले रकम सार्वजनिक गरिएको छैन।

गत वर्ष सफल भएको ‘आ बाट आमा’ को सिक्वेलका रूपमा निर्माण भइरहेको यस फिल्मको जापान राइट्स आर एन्ड बी इन्टरटेनमेन्ट तथा अमेरिका–क्यानडा राइट्स डोको फिल्म्सले यसअघि नै खरिद गरिसकेका छन्। यसले फिल्मप्रति अन्तर्राष्ट्रिय बजारको चासो र विश्वास झनै बढेको संकेत गरेको छ।

आर्या इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको फिल्ममा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, रिस्ता गुरुङलगायत कलाकारको अभिनय रहेको छ। ‘दशैंको जमरा र आमाको पर्खाइको कथा’ भन्ने नारासहित निर्माण भइरहेको फिल्मले आमा–सन्तानबीचको भावनात्मक सम्बन्ध र प्रतीक्षाको कथा प्रस्तुत गर्नेछ। नेपालमा यस फिल्मको वितरण ‘आरआर फिल्म्स’ ले गर्दैछ भने डिजिटल अधिकार ‘ओएसआर डिजिटल’ सँग सुरक्षित छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech