निरन्तर बायोपिकमा मिलनको ध्यान, मदनकृष्णमाथि फिल्म बनाउने तयारी

फिल्मी फण्डा । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा बायोपिक (जीवनीमा आधारित फिल्म) निर्माणमा विशेष रुचि देखाइरहेका निर्देशक मिलन चाम्स अब वरिष्ठ अभिनेता तथा हास्यसम्राट मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित फिल्म निर्माणको तयारीमा जुटेका छन्। उक्त फिल्मका निर्माता राजकुमार श्रेष्ठ रहने जनाइएको छ। मदनकृष्णको यूवा भूमिकामा भने महेश त्रिपाठी रहने बुझिएको छ ।

केही समयअघि नेपाल चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कारको निर्णायक समितिमा व्यस्त रहेका निर्देशक चाम्स फुर्सद मिल्नासाथ पुनः नयाँ बायोपिक परियोजनामा केन्द्रित भएका हुन्। यसअघि उनले ‘बबी’, ‘ब्लाइन्ड रक्स’ र ‘अञ्जिला’ जस्ता वास्तविक जीवनका कथामा आधारित फिल्म निर्देशन गरिसकेका छन्।

नेपाली फिल्म उद्योगका चर्चित, सफल तथा बहुआयामिक निर्देशक, निर्माता र पटकथाकारका रूपमा परिचित मिलन चाम्सले दुई सयभन्दा बढी म्युजिक भिडियो निर्देशनबाट आफ्नो सिर्जनात्मक यात्रा प्रारम्भ गरेका थिए। फिल्म ‘हँसिया’ मार्फत निर्देशन क्षेत्रमा प्रवेश गरेका उनले ‘वीर विक्रम’, ‘लिली बिली’, ‘बबी’, ‘गोरखा वारियर’ तथा ‘अञ्जिला’ लगायतका सफल फिल्म निर्देशन गरिसकेका छन्।

विशेषगरी वास्तविक जीवनका प्रेरणादायी पात्र र घटनालाई पर्दामा उतार्न रुचाउने चाम्सले दृष्टिविहीन प्रेरणादायी व्यक्तित्व श्रीष्टि केसीको जीवनमा आधारित ‘ब्लाइन्ड रक्स’ तथा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित ‘अञ्जिला’ जस्ता चर्चित बायोपिक फिल्म निर्माण गरेका छन्। ‘ब्लाइन्ड रक्स’ का लागि उनले राष्ट्रिय चलचित्र पुरस्कारअन्तर्गत उत्कृष्ट निर्देशकको सम्मान समेत प्राप्त गरेका थिए।

नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने उद्देश्यका साथ विभिन्न देशमा छायाङ्कन, अन्तर्राष्ट्रिय रेड कार्पेट प्रिमियर तथा नवीन प्रयोगमार्फत आफूलाई स्थापित गर्न सफल निर्देशक चाम्सले अब नेपाली हास्यव्यंग्य र कला क्षेत्रका जीवित किंवदन्ती मदनकृष्ण श्रेष्ठको जीवनलाई फिल्ममार्फत दर्शकमाझ प्रस्तुत गर्ने तयारी थालेका हुन्।

मदनकृष्ण श्रेष्ठको संघर्ष, कला यात्रा, सामाजिक योगदान तथा नेपाली हास्यव्यंग्य क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानलाई समेटेर निर्माण हुन लागेको यो फिल्मले नेपाली फिल्म उद्योगमा अर्को महत्त्वपूर्ण बायोपिकको रूपमा स्थान बनाउने अपेक्षा गरिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech