फिल्मी फण्डा । नेपाल एनिमेसन र भि.एफ.एक्स कलाकार संघ (आभान) ले नेपालकै पहिलो एनिमेसन चलचित्र महोत्सव ‘आभान (आफ) 2026’ आयोजना गर्ने घोषणा गरेको छ।
चलचित्र विकास बोर्डको सहकार्यमा आगामी अक्टोबरमा हुने महोत्सवको मुख्य विषय ‘मैले देखेको नेपाल’ राखिएको छ। कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डीसीले महोत्सवको आधिकारिक म्यास्कट ‘आफ्फे’ सार्वजनिक गरेका थिए। राष्ट्रिय पक्षी डाँफेबाट प्रेरित उक्त म्यास्कटले नेपाली कलाकारहरूको सिर्जनशीलता र कल्पनाशीलतालाई प्रतिनिधित्व गर्ने जनाइएको छ।
महोत्सवमा एनिमेटेड लघु चलचित्र प्रदर्शन, कन्सेप्ट आर्ट च्यालेन्ज तथा विभिन्न प्रतियोगिताहरू आयोजना गरिनेछन्। दुईदेखि १० मिनेटसम्मका एनिमेसन तथा भि.एफ.एक्समा आधारित लघु चलचित्रका लागि आवेदन खुला गरिएको छ, जसमा नेपालसहित विश्वभरका कलाकारहरूले सहभागिता जनाउन सक्नेछन्।
यसैबीच, आभान ले कलाकार र कम्पनीलाई जोड्ने ‘करिअरबोर्ड’ अनलाइन पोर्टल सञ्चालनमा ल्याउने तथा नेपालमा एनिमेसन विषयको स्नातक तहको अध्ययन कार्यक्रम सुरु गर्ने योजना पनि सार्वजनिक गरेको छ।
कार्यक्रममा अन्तर्राष्ट्रिय चलचित्र तथा गेम स्टुडियोमा कार्यरत १२ नेपाली कलाकार तथा एनिमेटरहरूको योगदान प्रस्तुत गरिएको थियो। एक सयभन्दा बढी कलाकार, विद्यार्थी, चलचित्रकर्मी तथा उद्योगसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको उक्त कार्यक्रमले नेपाली एनिमेसन उद्योगको नयाँ सम्भावना र भविष्यको मार्गचित्र प्रस्तुत गरेको आयोजकले जनाएको छ।