बिराज भट्टका दाइको निधनपछि ‘१२ गाउँ २’ को छायांकन स्थगित

फिल्मी फण्डा । अभिनेता तथा निर्देशक बिराज भट्टका सहोदर दाइ चेतराज भट्टको असामयिक निधन भएपछि फिल्म ‘१२ गाउँ २’ को छायांकन केही दिनका लागि स्थगित गरिएको छ। फिल्मको छायांकन हाल अन्तिम चरणमा पुगेको बेला आएको पारिवारिक शोकका कारण निर्माण टिमले काम रोकेको जनाएको छ। चलचित्रको छायांकन यसै वर्ष सुरु भएको थियो र दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

प्राप्त जानकारीअनुसार चेतराज भट्ट धनगढी विमानस्थल नजिक यात्राका क्रममा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल पुर्‍याइए पनि उनको निधन भएको बताइएको छ।

दाजुको निधनको खबरपछि निर्देशक बिराज भट्ट र अभिनेता समिर भट्ट तत्काल धनगढी पुगेका छन्। पारिवारिक शोकका कारण फिल्मको बाँकी काम केही दिनका लागि रोकिएको निर्माण नियन्त्रक भोला सुवेदीले जानकारी दिएका छन्।

निर्माण पक्षका अनुसार फिल्मको करिब ९० प्रतिशत छायांकन सम्पन्न भइसकेको छ भने बाँकी करिब १० प्रतिशत छायांकन पारिवारिक कर्मकाण्ड सकिएपछि बिराज भट्ट काठमाडौं फर्किएलगत्तै पुनः सुरु गरिनेछ।

बिराज भट्टको निर्देशनमा निर्माण भइरहेको ‘१२ गाउँ २’ सफल फिल्म ‘१२ गाउँ’को सिक्वेल हो। फिल्ममा बिराज भट्ट, समिर भट्ट, क्रिशु शाही 'काफिया, अनुपविक्रम शाही, वर्षा इतानी, खुशी कार्की लगायत कलाकारहरूको अभिनय रहेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech