अस्मिताले दिइन् अमेरिकाका १२ सहरमा कन्सर्ट, सकियो ४५ दिनको यात्रा

फिल्मी फण्डा । गायिका अस्मिता अधिकारीले संयुक्त राज्य अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गरेकी छन् ।‘यूएसए फर्स्ट म्युजिकल यात्रा- भोल्युम वन’ नाममा भएको कन्सर्ट न्यूयोर्क, बोस्टन, सिएटल, सान फ्रान्सिस्को, डलास, एटलान्टा, साक्रामेन्टो, एक्रोन, कोलम्बस र ह्यारिसबर्गमा सम्पन्न भएको हो ।नेपालीहरूका प्रमुख दुई पर्व दसैँ र तिहारको अवसरमा अक्टोबर २१ मा टेक्ससको डलासबाट सुरु भएको कन्सर्ट नोभेम्बर २५ मा भर्जिनियामा समापन भएको थियो ।

अधिकारीले पहिलो पटक अमेरिकामा आफ्नो प्रस्तुति दिएकी हुन् । एउटै यात्रामा अमेरिकाका १२ सहरहरूमा प्रस्तुति दिने पहिलो नेपाली महिला कलाकार अस्मिता रहेको आयोजकले दाबी गरेको छ । लाइभ एट प्रेजेन्स, प्लानेट थ्री फिल्म, कोसेली इभेन्ट्स, फुजोन इन्टरनेशनलले संयुक्त रूपमा कन्सर्ट आयोजना गरेका थिए ।

आयोजकका अनुसार ४५ दिनमा सबै कन्सर्टहरू सम्पन्न भएका छन् । छोटो समयमा धेरै स्थानमा र विश्वस्तरिय कन्सर्ट स्थलहरूमा कार्यक्रमको आयोजना भएका थिए । हरेक विकेन्डमा आयोजित ती सबै कन्सर्टमा नेपाली भाषी डायस्पोरा समुदाय, दोस्रो पुस्ताका नेपालीहरू र केही विदेशी नागरिकहरूसम्मको सहभागिता रहेको थियो ।अस्मिताको अमेरिका यात्रा अत्यधिक सफल, मन्त्रमुग्ध कन्सर्ट र उत्कृष्ट रहेको प्रतिक्रिया प्राप्त गरेको आयोजक मध्ये एक शरद युवराज सिंहले बताए ।

‘यस क्षेत्रमा काम गरेको डेढ दशक भन्दा लामो अवधिको अनुभवमा हामीले गायिका अस्मितालाई कोमल आत्मा भएकी, मिलनसार, राम्रो संस्कारी र नेपाली डायस्पोरा समुदायलाई राम्रोसँग बुझ्ने व्यक्तिको रूपमा भेट्टायौ’, सिंहले भने,’उनले आफूलाई यसरी स्थापित गर्दै गएकी छन् की जुन आजको सङ्गीतको बजारमा निकै दुर्लभ छ । हामीले उनको कन्सर्ट आयोजना गर्न पाएकोमा गर्व गरेका छौँ ।’अस्मिताले पछिल्लो समयको चर्चित गीत ‘काले केटाले’ सहित टाढा भए पनि, मेसो मिलाएर, रमरम मरौटी, उता परेली झिम झिम भो, फुलै फुल दिन्छौ कि लगायत दर्जनौँ गीतहरूले दर्शक झुमाएकी थिइन् ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech