काठमाडौं। आगामी मङ्सिर १८ गते (डिसेम्बर ४) बाट देशव्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली सिनेमा ‘सिन्दूर जात्रा’ को आधिकारिक टिजर सार्वजनिक भएको छ। सारङ्गी फिल्म्सको प्रस्तुति तथा सरोज पौडेलको कथा एवं निर्देशनमा बनेको यस सिनेमाको टिजर ओएसआर डिजिटल (OSR Digital) को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ पछि पुनः एकसाथ स्क्रिन सेयर गरेका विजय बराल र अञ्जना बराइलीको मुख्य अभिनय रहेको यस सिनेमाको टिजर निकै भावनात्मक र कौतुहलपूर्ण बनेको छ।
३ मिनेट ३२ सेकेन्ड लामो टिजरको सुरुवातमै ग्रामीण परिवेशमा कटुवालले हाँक (मुनादी) हालेको सुन्न सकिन्छ। जहाँ मितेरी गाउँका बाबुराम खड्काले नियतिले हारे पनि मनले जितेर आफ्नै श्रीमतीलाई पुनः ‘सिन्दूर जात्रा’ गर्दै घरमा भित्र्याउन लागेको र त्यसका लागि सम्पूर्ण गाउँले तथा इष्टमित्रलाई चुलेनिम्तो दिइएको घोषणा गरिएको छ।
टिजरको उत्तरार्धमा मुख्य पात्रद्वय विजय बराल र अञ्जना बराइलीबीचको निकै गहिरो र आत्मीय संवाद समावेश छ। श्रीमान्–श्रीमतीबीच सन्तानप्रतिको मोह, एकअर्काप्रतिको निस्वार्थ प्रेम र समर्पणलाई संवादमार्फत कलात्मक रूपमा उतार्ने प्रयास गरिएको छ। "मैले तिम्रो माया पाउन कति दुःख गर्या छु... तिमीलाई यहाँ बच्चाबच्ची जन्माउन ल्याएकै होइन, माया गर्न ल्याएको नि" भन्ने संवादले दर्शकको मन छुन्छ।
सरोज पौडेलको निर्देशन रहेको सिनेमाको पटकथा सबिन अधिकारी र बसन्त न्यौपानेले लेखेका हुन् । सिनेमामा विजय र अञ्जनासँगै बिनोद न्यौपाने, उषा खड्गी, राम प्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हियवाला गौतम, देशभक्त खनाल, राकेश खड्का, श्याम मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ।
दिनेश खड्का कार्यकारी निर्माता र नेम महर्जन निर्माता रहेको सिनेमामा राकेश खड्का र श्याम मगर सह-निर्माताका रूपमा छन् । बाबु श्रेष्ठको छायाङ्कन, सुरेन्द्र पौडेलको सम्पादन, प्रशान्त सिवाकोटीको सङ्गीत, साहस शाक्यको ब्याकग्राउन्ड स्कोर (BGM), उत्तम न्यौपानेको ध्वनि डिजाइन र स्मृति तिमिल्सिना (गुरुआमा) को नृत्य निर्देशन सिनेमामा रहेको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेल र मुख्य कलाकार विजय–अञ्जनाको पुनः सहकार्य भएकाले पनि मङ्सिर १८ मा रिलिज हुने ‘सिन्दूर जात्रा’ लाई बक्स अफिसमा निकै आशाका साथ हेरिएको छ।