काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको फिल्म ‘जलाकी’को अग्रिम टिकट बुकिङ खुलेको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स, आईएनआई सिनेमाज र वान सिनेमाजलगायतले आज बुधबारदेखि फिल्मको बुकिङ खुलाएका हुन् ।
क्युएफएक्सले प्रारम्भिक चरणमा उपत्यका र उपत्यकाबाहिर गरी २७ शो उपलब्ध गराएको छ । अन्य हलले भने बुकिङ खुलाउन बाँकी छ ।
फिल्मले मंगलबार चलचित्र जाँचपास समितिबाट युनिभर्सल सर्टिफिकेट पनि पाएको छ । सेन्सर बोर्डका सदस्यहरूले समेत फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएको निर्देशक मगरले बताएका छन् ।
टिजर, ट्रेलर र गीतमार्फत दर्शकमाझ राम्रो प्रभाव छोडेको फिल्मले प्रचार सामग्रीले जस्तै दर्शकको साथ पाउने विश्वास निर्देशक मगरको छ ।
निर्देशक अशोक थापा मगरको यो दोस्रो फिल्म हो । यसअघि उनले ‘खुस्मा’ निर्देशन गरेका थिए ।
फिल्ममा उपासना सिंह ठकुरी र सोनम तोप्देन मुख्य भूमिकामा छन् । उनीहरूसँगै शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनको अभिनय छ । त्यस्तै, विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर छन् ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् ।
फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन् ।