काठमाडौं । नेपाली फिल्मलाई विश्व बजारसँग जोड्ने र नेपाललाई अन्तर्राष्ट्रिय फिल्म निर्माणको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना हुन लागेको नेपाल ग्लोबल फिल्म फेस्टिभल (एनजीएफएफ) २०२७ को तयारी तीव्र पारिएको छ । आगामी सन् २०२७ फेब्रुअरी १९ देखि २२ (फागुन ७ देखि १० गते) सम्म काठमाडौंमा आयोजना हुने महोत्सवमा विश्वका विभिन्न देशबाट करिब १०० जना फिल्मकर्मी, सञ्चारकर्मी तथा फिल्म उद्योगका विशिष्ट व्यक्तित्व सहभागी हुने आयोजकले जनाएको छ ।
नेपाल फिल्म एण्ड मिडिया एकेडेमीको आयोजनामा हुन लागेको महोत्सवको पहिलो संस्करणमै विश्वभरबाट ५०० भन्दा बढी फिचर, सर्ट तथा डकुमेन्ट्री फिल्म प्राप्त भएका छन् । पहिलो संस्करणमै यति ठूलो संख्यामा अन्तर्राष्ट्रिय फिल्म प्राप्त हुनुले महोत्सवप्रति विश्व फिल्म क्षेत्रको चासो र आकर्षण बढ्दै गएको आयोजकको विश्वास छ ।
‘हिमालदेखि सागरसम्मका कथाहरूको उत्सव’ भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवमा प्राप्त फिल्ममध्ये करिब १०० उत्कृष्ट फिल्म छनोट गरी चार दिनसम्म काठमाडौंमा प्रदर्शन गरिनेछ । फिल्म छनोटका लागि निर्देशक सुवर्ण थापाको नेतृत्वमा समिति गठन गरिएको छ । छनोट भएका फिल्ममध्ये उत्कृष्टलाई निर्देशक अशोक शर्माको नेतृत्वमा रहने नेपाली तथा विदेशी जुरीले विभिन्न विधामा नगद पुरस्कारसहित अवार्ड प्रदान गर्नेछन् ।
महोत्सवका निर्देशक गणेश पाण्डेले पहिलो संस्करणमै विश्वका विभिन्न देशबाट ५०० भन्दा बढी फिल्म प्राप्त हुँदा आफूहरू उत्साहित भएको बताए । उनले भने, “हाम्रो पहिलो संस्करणमै विश्वभरबाट यति ठूलो संख्यामा फिचर, सर्ट र डकुमेन्ट्री फिल्म प्राप्त हुनु निकै उत्साहजनक उपलब्धि हो । यसले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय फिल्म महोत्सवप्रति विश्व फिल्मकर्मीको विश्वास र चासो देखाएको छ । हामी नेपालकै एउटा ठूलो महोत्सव बनाउने उद्देश्यका साथ अघि बढिरहेका छौँ ।”
महोत्सवमा फिचर, सर्ट, डकुमेन्ट्री, माउन्टेन, वातावरण, मानवशास्त्र, मानवअधिकार तथा महिला विषयवस्तुमा आधारित फिल्मका साथै आदिवासी जनजातिका कथा र संस्कृतिमा आधारित सिर्जनालाई समेटिनेछ । एनिमेसन, विद्यार्थी फिल्म र कृत्रिम बौद्धिकता (एआई) मा आधारित फिल्मलाई समेत विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ ।
महोत्सवमा करिब १०० जना अन्तर्राष्ट्रिय फिल्मकर्मी तथा फिल्म उद्योगका विशिष्ट व्यक्तित्वको सहभागिता जुटाउने तयारी छ । हलिउड, बलिउड तथा चिनियाँ फिल्म क्षेत्रका चर्चित फिल्मकर्मी अतिथिका रूपमा सहभागी हुने आयोजकको भनाइ छ ।
महोत्सव आयोजक समितिका सदस्य फूलमान बलका अनुसार चार दिनसम्म फिल्म प्रदर्शनसँगै विशेष सम्मान, अन्तरक्रिया, फिल्म कार्यशाला, प्यानल छलफल तथा अन्तर्राष्ट्रिय नेटवर्किङ कार्यक्रम सञ्चालन गरिनेछ ।
एनजीएफएफले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, नेपाली प्रतिभा र सिर्जनालाई विश्वमाझ चिनाउने तथा विदेशी निर्माता र निर्देशकलाई नेपालमा फिल्म निर्माणका सम्भावना र गन्तव्यबारे जानकारी गराउने लक्ष्य लिएको छ । यसबाट नेपालमा फिल्म पर्यटन, अन्तर्राष्ट्रिय सहकार्य र विदेशी लगानीको सम्भावनासमेत विस्तार हुने अपेक्षा गरिएको छ ।
नेपालको प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, सांस्कृतिक विविधता र मौलिक कथालाई अन्तर्राष्ट्रिय फिल्म जगत्मा प्रवर्द्धन गर्नु महोत्सवको अर्को महत्वपूर्ण उद्देश्य हो । युनेस्को क्रिएटिभ सिटी अफ फिल्मको अवधारणासँग जोड्दै काठमाडौंलाई फिल्म सिर्जना, सहकार्य र सांस्कृतिक आदानप्रदानको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसमेत महोत्सवले राखेको छ ।
महोत्सवलाई अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित फिल्म उत्सवका रूपमा विकास गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म संस्था, कूटनीतिक नियोग, शैक्षिक संस्था, पर्यटन क्षेत्र र निजी क्षेत्रसँग सहकार्यका लागि छलफल भइरहेको आयोजकले जनाएको छ ।