उपासनाको ‘जलाकी’ : प्रेम, विछोड र प्रतीक्षाको कथा

कसैको पर्खाइमा बितिरहेको जीवन र छुटेका मान्छेको सम्झना कति गहिरो हुन्छ? यही संवेदनशील प्रश्नको जवाफ खोज्दै अभिनेत्री उपासना सिंह ठकुरी आफ्नो नयाँ सिनेमा ‘जलाकी’मार्फत दर्शकमाझ आउने तयारीमा छिन्।

आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको यस सिनेमामा उनी ‘लिसारा’ नामक मुख्य चरित्रमा देखिँदैछिन्।

सुदूरपश्चिमको दार्चुलामा जन्मिएकी उपासनाको अभिनय यात्रा निकै लोभलाग्दो छ। २०७५ सालमा ‘क्याप्टेन’बाट रजतपटमा डेब्यु गरेकी उनले पहिलो सिनेमाबाटै दर्शकको ध्यान खिचिन्। त्यसपछि ‘कबड्डी कबड्डी कबड्डी’मा उनको अभिनयले थप चर्चा बटुल्यो। त्यसयता ‘डिसेम्बर फल्स’, ‘दुई नम्बरी’, ‘हात्तीछाप’, ‘खुस्मा’, ‘के घर के डेरा : घर नं. २’, ‘कर्मा’ र ‘माइतीघर’सम्म आइपुग्दा उनले हरेक सिनेमामा फरक-फरक पात्र बाँच्ने प्रयास गरेकी छिन्।

विशेषगरी द्वन्द्वकालको प्रेमकथामा आधारित सिनेमा ‘खुस्मा’ले उपासनाको करियरलाई नयाँ उचाइ दियो। सोही सिनेमामा गरेको सशक्त अभिनयबाट उनले राष्ट्रिय चलचित्र पुरस्कारसमेत जितिन्।

त्यसो त ‘जलाकी’ उपासनाका लागि अर्को एउटा सिनेमा मात्र नभएर ‘खुस्मा’का निर्देशक अशोक थापा मगर र पुरानै टिमसँगको भावनात्मक पुनर्मिलन पनि हो। एउटै टिमसँग दोस्रो पटक काम गर्दा सेटमा परिवारजस्तै आत्मीय महसुस भएको उनी सुनाउँछिन्।

‘जलाकी’मा काम गर्दा मगर समुदायको संस्कृति र महिलाप्रति गरिने सम्मान देखेर आफू निकै प्रभावित भएको उनले बताइन्।

सिनेमामा उपासनाको जोडी गायक तथा कलाकार सोनम तोप्देनसँग बाँधिएको छ। सिनेमा उनीहरूबीचको कलेज जीवनको अव्यक्त र एकतर्फी प्रेमकथामा आधारित छ।

त्यसो भए के हो त ‘जलाकी’? उपासना भन्छिन्, ‘जलाकीको अर्थ मगर समुदायमा कसैको सम्झनामा बनाइने ढुङ्गाको स्तम्भ हो।’ उनको भनाइअनुसार सिनेमाले मगर समुदायको आस्था, सम्झना र मायाको प्रतीकका रूपमा बनाइने यही स्तम्भको मर्म बोकेको छ।

उनी यो सिनेमामा प्रेमकथासँगै त्यसको फराकिलो दायरा पनि समेटिएको बताउँछिन्। भन्छिन्, ‘प्रेम भन्नेबित्तिकै हामी प्रेमी–प्रेमिकाबीचको सम्बन्ध मात्र सम्झिन्छौँ। तर आमाबुबा र छोराछोरीबीचको माया, छुटेका मान्छेको सम्झना र कसैको प्रतीक्षामा बितिरहेको जीवन पनि प्रेमकै गहिरो रूप हो। ‘जलाकी’ले यिनै त्याग, विछोड र प्रतीक्षाको कथा भनेको छ।’

एकपछि अर्को सिनेमामा सफलता पाइरहेकी उपासनाका लागि ‘जलाकी’ अभिनय यात्राको अर्को महत्त्वपूर्ण परीक्षा र अवसर दुवै हो। यसले उनलाई फेरि एकपटक दर्शकको मनको नजिक पुर्‍याउने विश्वास छ।

‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो। निर्देशक मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा सिनेमामा प्रस्तुत गरिएको बताए।

सिनेमामा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगरले अभिनय गरेका छन्। यो सिनेमाबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन्।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्। ‘जलाकी’ गोविन्द शाहीको काफिया फिल्मस् र कुबेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech