काठमाडौं । भोटेकोसीमा आएको बाढीका कारण केही दिनमै मञ्चन रोकिएको नाटक ‘वीर गणेशमान’ पुनः मञ्चन हुने भएको छ। मंसिर ४ देखि १९ गतेसम्म कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक मञ्चन गरिनेछ। पुनः मञ्चनको तयारीसँगै निर्माण पक्षले नाटकको औपचारिक ट्रेलरसमेत युट्युबमार्फत सार्वजनिक गरेको छ।
गणेशमान सिंह फाउन्डेसनको आयोजना र सर्वनामको प्रस्तुतिमा तयार भएको नाटकको परिकल्पना, नाट्य रूपान्तरण तथा निर्देशन वरिष्ठ रङ्गकर्मी अशेष मल्लले गरेका हुन्। नाटकको ट्रेलर तयार गरी औपचारिक रूपमा सार्वजनिक गर्ने चलन विरलै भए पनि निर्माण पक्षले दर्शकलाई लक्षित गर्दै यसको ट्रेलर युट्युबमा सार्वजनिक गरेको हो।
नाटक बिहीबारबाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो पनि राखिएको छ।
सत्ता र शक्तिका अगाडि कहिल्यै नझुकेका क्रान्तियोद्धा गणेशमान सिंहको जीवन र संघर्षमा आधारित नाटकले १०३ वर्ष लामो राणाशासनविरुद्ध नागरिक अधिकारका लागि उनले देखाएको साहसलाई प्रस्तुत गर्छ। जन्मकैदको सजाय पाएका गणेशमान भद्रगोल जेलबाट भागेको घटना र २०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्री पद अस्वीकार गरेको ऐतिहासिक प्रसंगलाई नाटकमा समेटिएको छ।
नाटकको स्क्रिप्ट सम्पादन प्रा. डा. सावित्री कक्षपतिले गरेकी हुन्। करिब दुई घण्टा लामो नाटकमा निर्देशक मल्लले आफ्नो ५० वर्षे नाट्ययात्रामा पहिलोपटक बिम्ब र प्रतीकको शैली छाडेर यथार्थपरक प्रस्तुति अँगालेका छन्।
नाटकमा वीर गणेशमानको भूमिका अभिनेता अभयराज बरालले निर्वाह गरेका छन्। यसअघि भएको मञ्चनमा उनको अभिनयले निकै प्रशंसा पाएको थियो। उनको अनुहारमा गणेशमान सिंहकै आकृति झल्किएको भन्दै दर्शकले प्रशंसासमेत गरेका थिए।
नाटकमा नुषा लिङ्देन लिम्बू, माया मानन्धर, मीना पूर्णिमा, मनिष अर्याल, राम दाहाल, राजन मोक्तान, दुर्लभ सिंह कार्की, निश्चल डी इन्फिनिटी, रमेश वज्राचार्य, प्रदीप भट्ट, अरमान शाही, अनिश बोगटी, शिशिर घर्ती मगर, दिवस गौतम, भक्त श्रेष्ठ, निर्मल शाही, समीर आचार्य, शाश्वत सापकोटा, रुबिन सुनार र रोलेक्स राईको पनि अभिनय छ।
यसअघि भदौमा सर्वनाम थिएटरमा आयोजित प्रिमियरमा गणेशमान सिंहका छोरा प्रकाशमान सिंहले आजको युवा पुस्ताले नेपालमा पूर्ण प्रजातन्त्र कसरी आयो र त्यसमा गणेशमान सिंहको योगदान कस्तो थियो भन्ने बुझ्न यो नाटक अनिवार्य हेर्नुपर्ने बताएका थिए।