कर्मा भन्छन्– ‘हिमालयन गोल्ड’मा परिस्थिति अनुसार गुण्डा बनेको छु

अभिनेता कर्मा कमै फिल्ममा नकारात्मक भूमिकामा देखिएका छन् । तर, जति फिल्ममा त्यस्तो भूमिकामा देखिएका छन्, ती पात्रलाई दर्शकले उत्तिकै रुचाएका छन् । यिनै कर्मा आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘हिमालयन गोल्ड’मा ‘प्रकाश’ नामक खलपात्रको भूमिकामा देखिँदैछन् । कर्माकै भनाइमा यो पात्रले परिस्थितिअनुसार आफ्नो भूमिका निर्वाह गर्छ ।

कर्मा आफ्नो चरित्रलाई पुरानो चलनचल्तीको भाषामा ‘गुण्डा’को ट्याग दिन्छन् । ‘मेरो चरित्र नै नेगेटिभ सेडको छ । पहिलाको चलनचल्तीको भाषामा भन्नुपर्दा गुण्डाको छ । तर, म त्यसलाई त्यसरी लिँदिनँ, किनकि यो एउटा पात्र हो । संयोगवश त्यो पात्रले आफ्नो परिस्थितिअनुसार काम गर्छ,’ कर्मा भन्छन्, ‘मेरो क्यारेक्टरले पनि परिस्थिति अनुसार यार्सागुम्बा लुट्नेदेखि लिएर यताउता गर्ने काम गर्छ । यसअघि ‘लुट’मा पनि बैंक लुट्ने क्यारेक्टर थियो । मान्छेहरू एउटा पात्रले किन त्यस्तो काम गर्छ भनेर प्रश्न गर्छन् । तर, त्यो काम परिस्थिति अनुसार हुँदै जाने हो नि ।’

कर्मा फिल्म ‘हिमालयन गोल्ड’को अनुभव रमाइलो रहेको सुनाउँछन् । ‘निर्देशक धिराज राजवंशीको यो पहिलो फिल्म हो । यसको स्क्रिप्ट, मसँगै अन्य पात्रहरू र सबै कुरा नै पृथक छन् । मैले गर्न खोजिरहेका फिल्महरूमध्ये ‘हिमालयन गोल्ड’ पनि एक हो । किनकि यसको कथावस्तु र प्रस्तुति पनि पृथक छ,’ उनी भन्छन् ।

कर्माले यसअघि धिराजका बुवासँग फिल्म ‘शेरबहादुर’मा सहकार्य गरेका थिए । उनका बुवासँग काम गरेको अनुभवले पनि धिराजसँग सहकार्य गर्न सहज भएको कर्मा बताउँछन् । निर्देशक धिराजले कथा सुनाउँदा त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा समेत प्रस्ट पारेकाले फिल्ममा काम गर्न सजिलो भएको उनको भनाइ छ ।

‘हिमालयन गोल्ड’मा काम गर्नुअघि पनि कर्मा मुस्ताङ र डोल्पा पुगिसकेका थिए । ‘त्यतिबेला म प्रत्यक्ष रूपमा यार्सागुम्बा टिप्ने ठाउँसम्म पुगेको त थिइनँ । तर, त्यहाँ पुग्ने मानिसहरूसँग मेरो घुलमिल भएको थियो । सन् १९९० को दशकपछि यार्सागुम्बा विश्वबजारमा फैलन थालेको हो । यार्सागुम्बा टिप्ने सिजनमा म डोल्पामै हुँदा स्कुल बन्द गरेर बच्चाबच्चीलाई समेत लिएर ठूलो समूह टिप्न गएको देखेको छु । बच्चाहरूलाई लिएर जाने कारण उनीहरूको आँखा तेजिलो हुन्छ भन्ने रहेछ । जसले गर्दा साना यार्सागुम्बा पनि टिप्न सजिलो हुँदो रहेछ,’ उनी भन्छन् ।

उनी थप्छन्, ‘स्थानीयसँग कुरा गर्दा पहिलेपहिले लुटपाट र झगडा पनि हुन्थ्यो रे । अहिले अलि व्यवस्थित छ । नेपाली सेना यार्सागुम्बा टिप्नुअघि नै लेकमा पुगिसकेका हुन्छन् । मानिसहरूको समूहअनुसार यार्सागुम्बा टिप्ने डाँडा छुट्याइएको हुन्छ । पोखरा, काठमाडौं र सुर्खेतबाट आएका मानिसहरूले यार्सागुम्बा टिप्न टिकट लिन्छन् । यहाँबाट आएका कतिपय मानिस लेक लागेर बिरामी भएको पनि देखेको छु ।’

कर्माले यार्सागुम्बाकै विषयमा एरिक भ्यालीले निर्माण गरेको डकुमेन्ट्रीसहित अन्य निर्देशकका डकुमेन्ट्री पनि हेरेकाले यसबारे धेरथोर जानकारी रहेको बताए । ‘अहिले त यार्सागुम्बा भनेर एउटा पेयपदार्थ नै बनाइएको छ । विश्वमाझ नै यार्सागुम्बालाई शक्ति प्रदान गर्ने औषधिका रूपमा चित्रण गरिएको छ,’ उनी भन्छन् ।

कर्माको अनुभवमा मुस्ताङको लोकेसन नै फिल्म छायांकनका लागि ठूलो चुनौती थियो । ‘ट्रेलरमा देखाइएको जुन गुफामा हामीले सुटिङ गरेका छौँ, त्यो उच्च हिमाली क्षेत्रमा थियो । त्यति उच्च स्थानमा रहेको गुफामा सुटिङ गर्नु आफैँमा चुनौती थियो । त्यहाँ धुलो उड्नेदेखि अक्सिजन नपुग्नेसम्मका समस्या थिए । ती चुनौतीका बाबजुद पनि हामीले सुटिङ गर्‍यौँ । त्यो गुफामा झन्डै पाँच दिन लगाएर एक्सन दृश्य खिचेका थियौँ,’ उनी सम्झन्छन् ।

फिल्ममा परीक्षा लिम्बुले निर्वाह गरेको महिला मुख्य पात्र, सुनिल थापाको अभिनय र कथाको प्रस्तुतिका कारण पनि ‘हिमालयन गोल्ड’ हेर्नुपर्ने कर्माको तर्क छ । ‘अझ रोचक कुरा त के भने यो फिल्ममा गीत नै छैन । गीतबिनाको कथात्मक फिल्म हेर्न चाहनेका लागि ‘हिमालयन गोल्ड’ उपयुक्त फिल्म बनेको छ,’ उनी भन्छन् ।

ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा कर्मा शाक्यसँगै परीक्षा लिम्बु, सुनिल थापा, मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्का, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्यालको अभिनय छ ।

यो फिल्मको सबैभन्दा भावनात्मक पक्ष भनेको नेपाली सिनेमाका वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम फिल्म हुनु हो । निर्देशक राजवंशीका अनुसार थापाको अन्तिम अभिनयलाई नेपाल र भारतका दर्शकमाझ पुर्‍याउनु उनको योगदानप्रति उचित श्रद्धाञ्जली हुनेछ ।

हिमाली क्षेत्रको पृष्ठभूमिमा निर्माण भएको यो सर्भाइभल थ्रिलर फिल्मले अस्तित्वको संघर्ष, लोभ र विश्वासघातलाई मुख्य कथावस्तु बनाएको छ ।

फिल्मका निर्माता मीनबहादुर भाम, लाइन प्रोड्युसर शैलेन्द्र डी. कार्की, सहनिर्माता सुयश ज्ञवाली र कार्यकारी निर्माता राजु राजवंशी हुन् ।

निर्देशक राजवंशीकै कथा रहेको फिल्मको पटकथा दीपेन्द्र गौचन र धिराज राजवंशीले लेखेका हुन् । विशष्ठ प्रधान डीओपी रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन तथा सजल लोप्चन र करुण थापाको भिएफएक्स छ ।

फिल्मलाई भारतको प्रतिष्ठित वितरण कम्पनी एए फिल्म्सले भारतमा प्रदर्शन गर्ने भएको छ । एए फिल्म्सले ‘बाहुबली’, ‘आरआरआर’ र ‘केजीएफ’जस्ता फिल्म वितरण गरिसकेको छ । मध्यपूर्वमा फार्स फिल्म्स मोसन पिक्चर्स र नेपालमा एप्पल इन्टरटेनमेन्टले फिल्म वितरण गर्नेछन् । जापानमा टोकियो ड्रिम इन्टरटेनमेन्ट वितरक रहेको छ ।

निर्माण टिमका अनुसार नेपाली फिल्मले यति ठूलो वितरण कम्पनीमार्फत भारतभर प्रदर्शनको अवसर पाएको यो पहिलो पटक हो । एए फिल्म्सका प्रतिनिधि थडानीले फिल्मको कथावस्तुले भाषिक र भौगोलिक सीमा पार गरेर दर्शकसँग जोडिन सक्ने विश्वास व्यक्त गरेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech