‘फ्रेन्च किस’ टिजर सार्वजनिक, माघ १ मा रिलिज

काठमाडौं । फिल्म ‘फ्रेन्च किस’ले टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । आज ओएसआर डिजिटलमार्फत टिजर सार्वजनिक गर्दै निर्माण टिमले फिल्म आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएको हो । माघे संक्रान्तिको अवसर पारेर फिल्म रिलिज हुन लागेको हो ।

सार्वजनिक टिजरमा एक युगल जोडी देखिन्छ । उनीहरू काठमाडौंका सुन्दर स्थानदेखि तालसम्म हात समाएर घुम्छन् र प्रेमबारे आआफ्ना धारणा राख्छन् । उनीहरू आधुनिक समयमा प्रेम मिथकमा परिणत भइसकेको बताउँछन् ।

एकअर्काप्रति आकर्षित देखिने जोडी एकान्तमा बसेर चुम्बन गर्छन् । त्यसपछि होटलमा पुगेर शारीरिक सम्बन्ध राख्छन् । तर, त्यसपछि उनीहरूबीच चर्को स्वरमा भनाभन भएको सुनिन्छ । यसले उनीहरूको सम्बन्धमा चिसोपना आएको संकेत गर्छ ।

टिजरले आधुनिक प्रेममा देखिने क्षणिक आकर्षण र सम्बन्धको जटिलतालाई संकेत गरेको छ । टिजरमा अर्पण थापा र थिन्ले ल्हामो मात्रै देखिएका छन् । उनीहरूको रोमान्स र सम्बन्धको उतारचढाव वरिपरि टिजर केन्द्रित छ ।

अर्पण थापाको निर्देशन रहेको फिल्ममा अर्पण र थिन्ले ल्हामोसँगै रेखा थापा, गौरी मल्ल र आयशा तामाङलगायत कलाकारको अभिनय छ ।

निर्देशक थापाले यसअघि नै ‘फ्रेन्च किस’मार्फत नयाँ पुस्ताको प्रेमकथालाई फरक शैलीमा प्रस्तुत गर्ने बताएका थिए । फिल्मको कथा पनि निर्देशक थापा स्वयंले लेखेका हुन् ।

निर्माण टिमले ‘फ्रेन्च किस’लाई नयाँ पुस्ताको रुचिअनुसारको फिल्म भनेको छ । निर्देशक थापाका अनुसार दर्शकले यस फिल्ममार्फत आधुनिक प्रेमकथाको अनुभूति गर्न पाउनेछन् ।

ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता सौगात बस्नेत र सहनिर्माता सुभाष बी. शाही हुन् । फिल्मको छायांकन सुदीप बरालले गरेका छन् ।

फिल्ममा चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यको संगीत रहनेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech