'ककाकिकी' ट्रेलरः गाउँमा अस्पताल बनाउन बैंक लुट्ने योजना !

काठमाडौँ । हास्यप्रधान फिल्म 'ककाकिकी'को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्म आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । यसैबीच, शनिबार काठमाडौंको न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित एक कार्यक्रमबीच निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा फिल्मका मुख्य विषयवस्तुलाई समेटिएको छ । ट्रेलरअनुसार कुलेबारी गाउँका मानिसहरू गाउँमा अस्पताल बनाउन विभिन्न योजना बनाउँछन् । त्यसमध्ये कतिपयले बैंक लुटेरै भए पनि अस्पताल बनाउनुपर्ने निष्कर्ष निकालेको देखिन्छ ।

ट्रेलरमा फिल्मका मुख्य कलाकारहरू तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेललगायतलाई देख्न सकिन्छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकार गौरी मल्लले पछिल्लो समय आइरहेका फिल्मभन्दा केही फरक बनाउने प्रयास निर्माण टिमले गरेको बताइन् । कलाकार शिशिर वाङ्देलले निर्माण टिममा युवाजोस भएका साथीहरू रहेकाले काम गर्दाको अनुभव राम्रो भएको बताए । त्यस्तै, कलाकार मनोज गजुरेलले लामो समयपछि फेरि फिल्ममा जोडिन पाएको र 'ककाकिकी' आफ्नो दोस्रो फिल्म भएको जानकारी दिए ।

कार्यक्रममा निर्देशक बिक्की अगरवालले नेपाली दर्शकलाई मन पर्ने गरी फिल्म बनाएको दाबी गरे । उनले फिल्मको टिजर र ट्रेलर सम्पादनको काम पनि आफैँले गरेको बताए । फिल्म राम्रो भए पनि वा दर्शकबाट जस्तोसुकै प्रतिक्रिया आए पनि त्यसको जिम्मेवारी आफूले नै लिने उनको भनाइ थियो ।

यो फिल्म सुरुमा भदौ १९ गते प्रदर्शन गर्ने तय भएको थियो । तर, देशमा ठूलो बाढीपहिरोका कारण जनधनको क्षति भएपछि त्यो समय हाँस्ने र हँसाउने उपयुक्त समय नभएको भन्दै निर्माण टिमले प्रदर्शन मिति सारेर मंसिर ११ गते पुर्‍याएको थियो ।

बिक्की अगरवाल र श्रद्धा प्रसाईंले संयुक्त रूपमा निर्देशन गरेको फिल्ममा प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बिटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायतको अभिनय छ ।

फिल्मको लेखन बिक्की अगरवाल, सरोज भण्डारी र विकास अर्यालले गरेका हुन् । श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको फिल्मको कन्सेप्ट सुमन अग्रवालको हो भने स्क्रिप्ट डक्टरको जिम्मेवारी विश्वास तिमल्सिना (बिटी कान्छा)ले सम्हालेका छन् ।

सुदीप बरालको डीओपी रहेको फिल्ममा अनिश बुढाथोकी मुख्य सहायक निर्देशक र विशाल राई सहायक निर्देशक छन् । अनिस तामाङले मेकअप, सुमन परियारले कस्ट्युम डिजाइन र अरुण रेग्मीले प्रोडक्सन हेडको जिम्मेवारी सम्हालेका छन् ।

फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ भने अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेसनलले लिएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech