ड्यालसमा ‘प्रेम अध्याय’को विशेष प्रदर्शन

 अमेरिकाको टेक्ससस्थित ड्यालसमा नेपाली फिल्म ‘प्रेम अध्याय’को विशेष प्रदर्शन गरिएको छ। विदेशमा रहेका नेपाली समुदायमाझ नेपाली फिल्म पुर्‍याउने उद्देश्यले आयोजित विशेष शो इर्भिङ मलस्थित एएमसी थिएटरको अडिटोरियममा प्रदर्शन गरिएको हो।

नोभेम्बर १५ मा आयोजित विशेष प्रदर्शनमा फिल्मका कलाकार सरोज खनाल र रामशरण चौधरी उपस्थित थिए। प्रेम र सम्बन्धका भावनात्मक पक्षसँगै एक्सनलाई समेत समेटिएको फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको निर्माण टिमले जनाएको छ।

चितवनका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको फिल्ममा रामशरण चौधरी र ऋचा थापा मुख्य भूमिकामा छन्। उनीहरूसँगै सरोज खनाल, मुकुन्द श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन्।

किशोर चौधरीको लेखन तथा निर्देशनमा बनेको फिल्मका निर्माता किरण चौधरी हुन्। फिल्मको छायांकन विष्णु परियारले गरेका छन् भने निर्माण नियन्त्रकको जिम्मेवारी मेसमान श्रेष्ठ र प्रणवले सम्हालेका छन्।

फिल्म ‘प्रेम अध्याय’ छिट्टै नेपालमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण टिमले जानकारी दिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech