काठमाडौं । कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘पच्चीस पच्चीस’ को कलाकार लाइनअप पूरा भएको छ। गत साउनमा औपचारिक निर्माण घोषणा गरिएको फिल्म अब छिट्टै छायांकनमा जाने तयारीमा छ।
फिल्ममा अभिषेक खड्का, खुसी कार्की, अमित सुब्बा अर्थात् ‘भक्ते भाइ’, सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी र निशा गौतमलगायत कलाकारको अभिनय रहनेछ। दार्जिलिङका चर्चित कमेडियन तथा कन्टेन्ट क्रिएटर ‘भक्ते भाइ’ यसै फिल्ममार्फत अभिनयमा डेब्यु गर्दैछन्।
सामाजिक–कमेडी विधामा निर्माण हुन लागेको फिल्मले भरपूर मनोरञ्जनसँगै उत्कृष्ट सामाजिक–कमेडी कथा प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ। निर्देशक आचार्यले फिल्म नेपाली माटो सुहाउँदो हुने बताएका छन्।
सुब्रत आचार्यको निर्देशन रहने यो उनको तेस्रो फिल्म हो। उनले यसअघि ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरेका थिए। फिल्मको कथा सुब्रत आचार्य र जयाको हो भने पटकथा सुशील देवकोटाले लेखेका छन्। छायांकन निर्देशन हरि हुमागाईंको रहनेछ।
फिल्मका निर्माता कर्ण कार्की हुन्। गत वर्ष ‘होस्टेल ३’ बाट फिल्म निर्माणमा प्रवेश गरेका कार्कीको यो दोस्रो फिल्म हो। दीपेन्द्र गौतम कार्यकारी निर्माता छन् भने धीरेन्द्र लाल कर्ण र मणिराज खड्का सह–निर्माता हुन्। सरिता ढकाल, मनिषा राउत र प्रकाश कँडेल लाइन प्रोड्युसरका रूपमा छन्।