‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको फिल्म ‘जलाकी’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार लबिम मलमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरमा कलेज जीवनको प्रेमकथा र समयको परिवर्तनसँगै पात्रहरूको जीवनमा आउने भावनात्मक उतारचढावलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता सोनम तोप्देनको अभिनयसँगै उनीहरूबीचको केमेस्ट्री आकर्षक देखिन्छ ।
मगर समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको फिल्मको कथावस्तु र यसअघि नै चर्चित बनेका गीतहरूले ट्रेलरलाई थप आकर्षक बनाएका छन् ।
फिल्ममा समावेश ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका तीन गीत तथा टिजरलाई दर्शकले रुचाएका छन् । ट्रेलरले पनि दर्शकको मन जित्ने निर्माण टिमको विश्वास छ ।
‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाबाट निर्मित स्तम्भलाई जनाउने शब्द हो । निर्देशक मगरका अनुसार यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर फिल्ममा मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावनालाई समेटिएको छ ।
फिल्ममा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिनलगायत कलाकारको अभिनय छ । विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिएका छन् भने बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर छन् ।
यसै फिल्मबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् ।
‘जलाकी’को वितरण गोविन्द शाहीको काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन् ।