फिल्म ‘चिरञ्जीवी भवः’को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले शनिबार फिल्मको पहिलो झलकका रूपमा दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।
पोस्टरमा फिल्मका मुख्य तीन पात्र हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी छन् ।
एउटा पोस्टरमा हरिवंश गम्भीर मुद्रामा देखिँदा आशीर्वाद र प्रशंसा भने खुसी देखिएका छन् । क्याजुअल लुक्समा रहेका आशीर्वाद कसैलाई हेरेर मुस्कुराइरहेका छन् । बुट्टे चोली र सारीमा सजिएकी प्रशंसा पनि खुलेर हाँसेकी छन् । शिर छड्के पार्दा अनुहारमा आइपुगेका दुई फुर्का कपालले उनको चञ्चल स्वभाव झल्काउँछन् ।
पोस्टरको केन्द्रमा छन्, सुकिलो मुहारका हरिवंश । सेतै फुलेको कपाल र जुँगा, नयाँ ढाका टोपी तथा चिटिक्क परेको पहिरनले उनलाई खानदानी परिवारका घरमूलीका रूपमा प्रस्तुत गरेको छ । पृष्ठभूमिमा देखिने मन्दिर र फिल्मको शीर्षक पछाडि राखिएको खामले समय र धार्मिक आस्थाको संकेत गर्छ ।
अर्को पोस्टरमा हरिवंश र आशीर्वाद छन् । यसमा हरिवंशले आशीर्वादलाई आशीर्वाद दिइरहेको दृश्य छ । क्याजुअल पहिरनमा रहेका आशीर्वादको अगाडि सुकिलो दौरा-सुरुवाल र इस्टकोटमा सजिएका हरिवंश रवाफिलो देखिन्छन् ।
यो पोस्टरले फिल्मको शीर्षकलाई समेत दृश्यात्मक रूपमा स्थापित गर्न खोजेको छ । हरिवंशले आशीर्वाद दिँदै ‘चिरञ्जीवी भवः’ भनिरहेको आभास हुन्छ । पोस्टरबाट उनीहरू बुवा र छोराको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ ।
फिल्म ‘चिरञ्जीवी भवः’मा हरिवंश आचार्य ‘चिरञ्जीवी बाजे’को चरित्रमा देखिँदैछन् ।
ब्लकबस्टर निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको फिल्म माघ १ गतेदेखि प्रदर्शनमा आउँदैछ । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको फिल्म अहिले पोस्ट प्रोडक्सनमा छ ।
गत वर्ष निर्देशक आचार्यको निर्देशनमा बनेको ब्लकबस्टर फिल्म ‘परान’ वर्षकै सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली फिल्म बनेको थियो । उनको निर्देशनमा बन्न लागेको दोस्रो फिल्म कस्तो हुनेछ भन्ने दर्शकमाझ चासो छ । यही कारण ‘चिरञ्जीवी भवः’ प्रतीक्षित फिल्म बनेको छ ।
यस फिल्ममा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि निर्देशक आचार्यसँगै जोडिएका छन् । कुमारको कथामा दीपकले फिल्म निर्माण गरेका हुन् ।
फिल्ममा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझीसँगै करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, तुलसी घिमिरे, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी र सुस्मिता कुँवरलगायत कलाकारको अभिनय छ ।
कुमार कट्टेलले तयार पारेको कथालाई सविन अधिकारी र वसन्त न्यौपानेले लेखेका हुन् । सोसल ड्रामा विधामा बनेको फिल्मले दुई पुस्ताबीचको वैचारिक भिन्नता र उनीहरूबीचको सम्बन्धलाई मुख्य विषयवस्तु बनाएको छ ।
उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको फिल्ममा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता छन् ।
निर्देशक दीपक आचार्य स्वयंले फिल्मका लागि गीत लेखेका छन् । गीत लेखनमा हर्क साउदको पनि सहकार्य रहनेछ । फिल्ममा रञ्जित गजमेरको संगीत रहेको गीत पनि समावेश हुनेछ ।
शिवराम श्रेष्ठको छायांकन र मित्र डी. गुरुङको सम्पादन रहेको फिल्ममा बाबु गिरी, सुशान्त गौतम, निरञ्जन थापा र समीर खरेलको संगीत छ । गम्भीर विष्ट र किरण थापाले नृत्य निर्देशन गरेका छन् ।
रामबाबु खड्का प्रमुख सहायक निर्देशकका रूपमा छन् भने सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल सहायक निर्देशक छन् ।
फिल्ममा सुवास राज काफ्ले प्रोजेक्ट म्यानेजर र विशाल न्यौपाने प्रोडक्सन डिजाइनर छन् । मेकअपमा विक्रम गौतम, स्टिल तथा बीटीएसमा सन्तोष क्षेत्री, प्रोडक्सनमा विष्णुप्रसाद मैनाली र अनिश लामिछाने तथा पब्लिसिटी डिजाइनमा टाउवा स्टुडियो (विजय बस्याल) रहेका छन् ।
फिल्म ‘चिरञ्जीवी भवः’ माघ १ गते (जनवरी १५) देखि देशभरका हलमा प्रदर्शनमा आउनेछ । ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ ।