अनमोल केसी स्टारर 'बाटुलो जून'को 'अल्लारे ठिटो आयो' (भिडियो)

फिल्मी फण्डा । यहि कार्तिक २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र 'बाटुलो जून'मा समावेश डान्सिङ नम्बर सार्वजनिक भएको छ । सुपरस्टारको उपाधि पाएका अभिनेता अनमोल केसी स्टारर चलचित्रको 'अल्लारे ठिटो आयो' बोलको गीत निर्माण टिमले आइतबार युट्युबमार्फत वर्ल्ड प्रिमियर गरेको हो ।

सार्वजनिक गीतको भिडियोमा अनमोलसँगै डेब्यू अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन् । पुरानो नेपाली समाजको मौलिक परिवेशलाई समेटेर दृश्यांकन गरिएको भिडियोमा अनमोल र प्रिन्सीको दोहोरी नोकझोकसहितको लोभलाग्दो प्रेमिल केमेस्ट्रि देख्न सकिन्छ ।

निर्माण टिमले नजिकिँदो तिहार पर्व र त्यसको आकर्षक पक्ष देउसी भैलोलाई लक्षित गरेर गीत सार्वजनिक गरिएको बताएको छ ।

गीतमा अडियोतर्फ रुबै र प्रविण बेडुवालको स्वर छ भने संगीत निर्माण, मिक्सिङ र मास्टरिङ रूप महानताले गरेका छन् । गीतमा पञ्चेबाजा,सारङ्गी, गीतार र बाँसुरीको कर्णप्रिय धुन समेटिएको छ ।

भुवन केसीको निर्देशन र सनराइज पिक्चर्स प्रालीको ब्यानरमा तयार भएको ‘बाटुलो जून’ ३० देखि ४०  दशकको नेपाली परिवेशमा आधारित प्रेम कथानक चलचित्र हो । यो चलचित्रमार्फत एक आदर्श प्रेमलाई केन्द्रमा राख्दै तत्कालिन सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने तौरतरिकालाई पर्दामा उतार्ने प्रयास गरिएको निर्माण टिमले बताएको छ ।

‘बाटुलो जून’ केवल पुरानो समयको कथा भन्ने चलचित्र मात्र नभएर आफ्नै सिनेमायी यात्रासँग पनि जोडिएको निर्देशक केसीले बताउँदै आएका छन् । केसी तत्कालिन समयका लोकप्रिय अभिनेता हुन् । यो चलचित्रमा निर्देशक केसी स्वयंम महत्वपूर्ण भूमिकामा छन् । चलचित्रको लेखनमा सामीप्यराज तिमल्सेनासँग सरिन पोखरेलले सहकार्य गरेका छन् ।

राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत समावेश छ । प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको 'बाटुलो जून'लाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । सह- निर्मातामा विवेक थापा छन् । यो चलचित्रबाट लामो समयपछि अभिनेत्री गरिमा पन्तले अभिनयमा पुनरागमन गरेकी छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech