‘कबड्डी ५’ले ३ दिनमै कमायो ५ करोड ३७ लाख, क्युएफएक्सको ‘सुपरहिट’ ट्याग

फिल्मी फण्डा । रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले प्रदर्शनको सुरुवाती तीन दिनमै बक्स अफिसमा आक्रामक व्यापार गरेको छ । निर्माण पक्षका अनुसार आइतबार राति ११ः५९ बजेसम्म फिल्मले ५ करोड ३७ लाख रुपैयाँ ग्रस व्यापार गरेको छ ।

दर्शकको उच्च चाप र आक्रामक व्यापारलाई मध्यनजर गर्दै देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले प्रदर्शनको दुई दिनमै ‘कबड्डी ५’लाई सुपरहिट घोषणा गरेको थियो । क्युएफएक्स चेनका हलमा फिल्मले दुई दिनमै १ करोड ५० लाख रुपैयाँको व्यापार गरेपछि सुपरहिट ट्याग दिइएको निर्माण पक्षले जनाएको छ ।

देशका प्रमुख ९ सहरमा रहेका क्युएफएक्सका १७ वटा हलमा प्रदर्शन भइरहेको फिल्मलाई आइतबार ६८ भन्दा बढी शो दिइएको थियो । फिल्मका अधिकांश शोमा दर्शकको उच्च उपस्थिति देखिएको निर्माण पक्षको भनाइ छ ।

यता, प्रदर्शनको चौथो दिन अर्थात् आज सोमबार देशभर ‘कबड्डी ५’ले ३ सयभन्दा बढी शो पाएको छ । सुरुवाती तीन दिनको व्यापार र दर्शकको प्रतिक्रियालाई आधार मान्दा फिल्मले आगामी दिनमा पनि बलियो व्यापारलाई निरन्तरता दिने देखिएको छ ।

दर्शकसँगै समीक्षकबाट समेत सकारात्मक प्रतिक्रिया पाइरहेको फिल्ममा ‘कबड्डी’का अघिल्ला शृंखलादेखि दर्शकले पछ्याउँदै आएको काजीको प्रेमकथाले यसपटक नयाँ मोड लिएको छ । प्रेम पाएपछि काजीको जीवनमा आउने पारिवारिक, सामाजिक र व्यक्तिगत उतारचढाव फिल्मको मुख्य आकर्षण बनेको छ ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपीन कार्की, रिश्मा गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान लगायतका कलाकारको अभिनय रहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech