कस्तुरी प्रोडक्सन प्रा.लिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रा.लिको सहकार्यमा निर्माण भइरहेको फिल्म **‘सिन्दूर’**को छायांकन धमाधम भइरहेको छ। फिल्मको छायांकन हाल पश्चिम नेपालको दाङ जिल्लामा भइरहेको छ।
लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भइरहेको फिल्ममा सञ्जिव सार्कीको लगानी छ। दिनेश सिंह महरा कार्यकारी निर्माता रहेको फिल्ममा पुष्प खड्का र प्रशंसा रायमाझी मुख्य कलाकारका रूपमा यसअघि नै सार्वजनिक भइसकेका थिए।
यसैबीच, फिल्ममा अब अभिनेता विपिन कार्की र अभिनेत्री निरुता सिंह पनि जोडिएका छन्। निर्माणपक्षका अनुसार निरुताले केही दिनमै फिल्मको छायांकन सुरु गर्नेछिन् भने विपिनले दशैंपछि छायांकनमा सहभागी हुनेछन्। दुवै कलाकारको भूमिकाबारे भने निर्माणपक्षले केही खुलाएको छैन।
निर्देशक सुनारका अनुसार फिल्मको छायांकनका लागि एक महिनाको सेड्यूल तयार गरिएको छ। सामाजिक कथावस्तुमा आधारित फिल्मले एक महिलाका लागि सिन्दूरको महत्व र त्यससँग जोडिएको भावनात्मक पक्षलाई प्रस्तुत गर्नेछ।
संकल्प भुजेलको छायांकन रहेको फिल्ममा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत छ। प्रकाश हमाल निर्माण प्रमुख, करण बहादुर साउद मुख्य सहायक निर्देशक र रामजी लामिछाने नृत्य निर्देशकका रूपमा छन्।
फिल्ममा रोहित वली र विकेश लामा प्रोडक्सन म्यानेजर छन्। एनवी महर्जनको एक्सन निर्देशन रहेको फिल्ममा मदन सुरखेतीको सह–लेखन छ। फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन।