परिवारको दशैं गीत ‘रातो टिका’ सार्वजनिक

काठमाडौं । कार्तिक १३ गते रिलिज हुने फिल्म ‘परिवार’को दशैं गीत ‘रातो टिका’ सार्वजनिक भएको छ ।

बाबुल गिरीको स्वर, शब्द र संगीत रहेको गीतमा गायिका बबी लिम्बुले स्वरमा साथ दिएकी छन् । स्वरांकन स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ, मास्टरिङ तथा एरेन्ज पनि बाबुल गिरीले नै गरेका हुन् ।

दशैंको टीका लगाएपछिको रमाइलो माहोललाई प्रस्तुत गरिएको डान्सिङ नम्बरमा फिल्मका कलाकार कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, लक्ष्मीनाथ तिमिल्सिना, विनिता बस्नेतलगायतले अभिनय गरेका छन् । गीतको भिडियोमा प्रयोग गरिएको लिङ्गे पिङ, चिटिक्क सजाइएका घर र सफा आँगनले गाउँको दशैं माहोललाई झल्काएको छ ।

गीत म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यसअघि फिल्मको फस्टलुक र टिजर सार्वजनिक भइसकेका छन् । टिजर र फस्टलुकलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको निर्माण पक्षको भनाइ छ ।

रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई मदन थापाले निर्देशन गरेका हुन् । शाही फिल्म प्रोडक्सन र विशआई फिल्मस्सँगको सहकार्यमा बनेको फिल्मले ‘कहिले श्रीमानको वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ भन्ने नारा बोकेको छ ।

फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायतको अभिनय छ ।

प्रेम थापा र गणेश उपाध्यायको लेखन रहेको फिल्ममा निरज कँडेल डीओपी, विशेष महर्जन र जयन्द्र कुँवर छायांकार तथा एनबी महर्जन एक्सन निर्देशक छन् ।

रमेश शाही निर्माता रहेको फिल्ममा कैलाश रावल कार्यकारी निर्माता र आरम्भ रिजाल सह–निर्माता छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech