काठमाडौं । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको हरर फिल्म ‘भिडियोटेप’को छायांकन ३१ दिनमा सकिएको छ ।
भदौको पहिलो साताबाट उपल्लो मुस्ताङमा सुरु भएको फिल्मको छायांकन काठमाडौंमा तीन रातसमेत गरिएको निर्माण पक्षले जनाएको छ ।
फिल्ममा उपासना सिंह ठकुरी र कुन्दन मान शाक्य मुख्य भूमिकामा छन् । अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं, सिद्धार्थ सिंहलगायत कलाकारको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
फिल्ममा वशिष्ट प्रधानको डीओपी रहेको छ भने ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर छन् । ओविद उद्दिनले निर्देशन गरेको फिल्ममा महेश बराल मुख्य सहायक निर्देशकका रूपमा छन् ।
निर्देशक ओविदले टिमको निरन्तरको मेहनतका कारण निर्धारित समयमै छायांकन सम्पन्न गर्न सकिएको बताए । आफूलाई पहिलेदेखि नै हरर फिल्म मन पर्ने भएकाले यो जनराप्रति आकर्षित भएको उनको भनाइ छ ।
फिल्मको प्रदर्शन मिति भने तय भइसकेको छैन ।