‘बाः एक योद्धा’को दोस्रो शनिबार ५४ शो हाउसफूल

काठमाडौं । प्रदर्शनको दोस्रो शनिबार फिल्म ‘बाः एक योद्धा’ले देशभर उत्साहजनक दर्शक पाएको छ । शनिबारका लागि प्राप्त ७४ श ोमध्ये दिउँसो साढे १२ बजेसम्म ५४ शो हाउसफूल भइसकेका छन् ।

बाँकी शोमा पनि बुकिङ तीव्र गतिमा भइरहेको निर्माता वसन्त लम्सालले जानकारी दिए । अग्रिम बुकिङमै टिकट सकिन थालेपछि कतिपय दर्शकले चाहेर पनि फिल्म हेर्न नपाउने अवस्था बनेको उनको भनाइ छ ।

दर्शकको चाप बढेपछि हलहरूले अतिरिक्त शो थप्न थालेका छन् । निर्माता लम्सालका अनुसार काठमाडौं, भक्तपुर, पोखरा र चितवनका केही हलले शनिबार मध्याह्नपछि थप शो राखेका छन् ।

गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘बाः एक योद्धा’ले पहिलो दिन ६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । शुक्रबारसम्म फिल्मले १ करोड ३० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माता पक्षले जनाएको छ ।

दर्शकको प्रतिक्रिया र शोको अकुपेन्सी बढ्दै जाँदा फिल्मको बक्सअफिस कलेक्सन पनि क्रमशः उकालो लागिरहेको छ ।

फिल्मले नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई कथाको केन्द्रमा राखेको छ । सन्तानका इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले भोग्ने उपेक्षा र दुःखसम्मका विषय फिल्ममा प्रस्तुत गरिएको छ ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्मका निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता रहेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech