असोज २३ गते रिलिज हुने नेपाल, भुटान र भारतको संयुक्त निर्माण रहेको फिल्म ‘टनेल २६’ का भुटानी कलाकार तथा निर्माण टोलीले गृहमन्त्री सुदन गुरुङसँग भेट गरेका छन्।
भेटका क्रममा गृहमन्त्री गुरुङले ‘टनेल २६’ टोलीलाई सफलताको शुभकामना दिँदै फिल्मलाई नेपाल, भुटान र भारतबीचको सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई प्रतिनिधित्व गर्ने महत्वपूर्ण परियोजनाका रूपमा उल्लेख गरे।
उनले फिल्मको विषयवस्तुलाई पछिल्लो समय सुरुङभित्र मानिसहरू फसेका घटनासँग जोड्दै कठिन परिस्थितिमा फसेका मानिसहरूले भोग्ने संघर्ष र बाँच्नका लागि गर्ने प्रयासले यस्ता कथाको महत्व थप उजागर गर्ने बताए।
गृहमन्त्री गुरुङले हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूले भोग्दै आएको समस्याबारे पनि धारणा राखेका थिए। शक्तिशाली राष्ट्रहरूको बेवास्ता, कमजोर पूर्वाधार विकास, भ्रष्टाचार तथा नैतिकता र जिम्मेवारीको अभावका कारण पहाडी तथा हिमाली क्षेत्रका नागरिकले विभिन्न समस्या भोग्नुपरेको उनको भनाइ थियो।
नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको ‘टनेल २६’ असोज २३ गते नेपाल र भुटानमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।